पहलगाम हमलाको नेपालद्वारा निन्दा

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Nepal condemns Pahalgam attack

काठमाडौँ — नेपालले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर आतंकवादी हमलाको कडा निन्दा गरेका छन् । 

बुधबार अपराह्न ओली र मोदीबीच फोन संवाद भएको थियो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत त्यसको जानकारी दिएका छन् । मोदीसँगको संवादमा उनले आतंकवादी हमलामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन् । त्यस्ता जघन्य कृत्यविरुद्ध नेपाल भारतको साथमा रहेको उनले मोदीसँगको वार्तामा बताएको उल्लेख गरेका छन् । 

‘प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेर आतंकवादी हमलामा ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरें, त्यस्तो जघन्य कृत्यविरुद्ध भारतसँग नेपालको अटुट ऐक्यबद्धता छ,’ ओलीले एक्समा लेखेका छन् ‘नेपाली नागरिकको मृत्युमा उहाँले प्रकट गर्नुभएको समवेदनाप्रति आभार व्यक्त गरेको छु ।’ घटनाको निन्दा गर्दै ओलीले नेपाल भारतको साथमा रहेको बताएका छन् । 

भारतीय विदेश मन्त्रालयले पनि ओलीले मोदीलाई फोन गरेर जम्मु–कश्मीरमा भएको अतंकवादी हमालको कडा निन्दा गरेको जनाएको छ । आतंकवादी हमालामा एक नेपाली युवाको मृत्यु भएकोमा मोदीले समवेदना प्रकट गर्दै क्रूर आतंकवादी हमलाका दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । 

त्यस्तै, परराष्ट्रमन्त्री आरजु देउवाले पनि पहलगाम घटनालाई क्रूर र अमानवीय भन्दै निन्दा गरेकी छन् । उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा नेपाल रहेको उनले बताएकी छन् । ‘नेपाल सरकारले उक्त घटनाको निन्द एवं भर्त्सना गर्दछ,’ उनले एक्समा लेखेकी छन् ‘सो घटनाका बारेमा थप जानकारीका लागि परराष्ट्र मन्त्रालय भारतीय पक्षसँग सम्पर्कमा रहेको छ ।’ 

राष्ट्रपति रामचन्द्र पौडेलका साथै विभिन्न दलले भारतमा भएको आतंकवादी हमलाको विरोध गरेका छन् । आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको शव नेपाल पुर्‍याउन भारत सरकारले सहयोग गरेको छ । दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसका लागि आवश्यक समन्वयको भइरहेको बताए ।

न्यौपानेको शव श्रीनगरबाट दिल्ली र दिल्लीबाट बुधबार साँझ लखनऊ ल्याइँदै छ । राजदूत शर्माका अनुसार लखनऊबाट बुधबार राति नै शव एम्बुलेन्समा भैरहवा पुर्‍याइने जनाइएको छ । घटनामा घाइते सुदीपकी आमा रिमा पाण्डे न्यौपाने तथा अन्य तीन जना युवराज काफ्ले, सुष्मा न्यौपाने र हरिप्रसाद सापकोटालाई पनि उद्धार गरेर नेपाल ल्याउन लागिएको दिल्लीस्थित दूतावासले बताएको छ ।

कान्तिपुर

Link copied successfully