सिन्धुपाल्चोक — माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादी २०८४ साल सरकारमा जानुपर्ने अवस्था आउन सक्ने संकेत गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार भएको वाईसिएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधनका क्रममा उनले माओवादी केन्द्रले २०८४ सालको चुनावसम्म सरकारमा नजाने भनेको स्मरण गर्दै व्यवस्था माथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा त्यसलाई बचाउन सरकारमा जान सकिने बताएका हुन् ।
'८४ सालसम्म सरकारमा नजाने भनेको हो तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ । त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ,’ उनले भने ।
पुनले चौतर्फी रुपमा असफल भइसकेको केपी ओली नेतृत्वको वर्तमान सरकार अब ढल्नमात्रै बाँकी रहेको बताए । उनले ओली सरकार बिचौलियाहरुको बनाएको पुष्टि भएको समेत दाबी गरे । भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ । बिचौलियाहरु अहिले राष्ट्र बैक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो ।'
उनले केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट ध्रुविकरण सम्भव नहुने बताए । तर पनि एमाले भित्रका राम्रा कम्युनिष्ट नेताहरु र अन्य कम्युनिस्ट घटकहरुसँग सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।
