देउवाको उत्तराधिकारी खोज्न कांग्रेसका ६ पूर्वपदाधिकारीको गठजोड

कांग्रेसका ६ पूर्वपदाधिकारीले गरे चियापान, संस्थापन पक्षबाट सभापतिको उम्मेदवार टुंगो लगाउन देउवामाथि दबाब बढाउने रणनीति

वैशाख ११, २०८२

कुलचन्द्र न्यौपाने

Alliance of 6 ex-officers of Congress to find Deuba's successor

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा उत्तराधिकारी छनोट गर्न नसकिरहेका बेला उनी पक्षधर पूर्वपदाधिकारीले सक्रियता बढाएका छन् । आगामी महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिमा अघि सारिने नेता छनोटका लागि उनीहरूले देउवामाथि दबाब बढाउन थालेका हुन् ।

लोकतन्त्र दिवसका अवसरमा बिहीबार पूर्वमहामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा कांग्रेसका पूर्वपदाधिकारीको चियापान कार्यक्रम गरिएको थियो । चियापानमा पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र अन्य केही नेता सहभागी थिए । उनीहरूले यसअघि सिंह र निधिको निवासमा पनि चियापान कार्यक्रम गरेका थिए । पूर्वपदाधिकारीले राजनीतिमा आफूहरूको सान्दर्भिकता नसकिएको सन्देशसमेत दिन खोजेको एक नेताले बताए ।

कांग्रेसको विधानमा दुई कार्यकालभन्दा बढी पार्टी सभापति हुन नपाइने व्यवस्था छ । त्यही कारण देउवा आसन्न १५ औं महाधिवेशनबाट फेरि नेतृत्व लिन पाउँदैनन् । तर आफ्नातर्फबाट कसलाई अघि सार्ने भन्ने निर्णय उनले लिइसकेका छैनन् । संस्थापन पक्षबाट वर्तमान उपसभापति पूर्णबहादुर खड्का र ६ पूर्वपदाधिकारी नै आकांक्षी छन् । तर ६ जनाभित्र समझदारी बनाएरै एक जनालाई सभापतिको उम्मेदवार बनाउने दाबी नेता श्रेष्ठले गरे ।

केही समयअघि ६ पूर्वपदाधिकारीले देउवालाई भेटेरै संस्थापन पक्षबाट उम्मेदवार छनोट गर्न आग्रह गरेका थिए । समझदारीमै एक जना पार्टी सभापतिको उम्मेदवार हुने, अरू त्यसपछिका पदाधिकारी र केन्द्रीय सदस्यमा जान सकिने उनीहरूको भनाइ छ । ‘६ जनाको यो गठजोड १५ औं महाधिवेशनसम्मै जान्छ, त्यसमा अरू पनि थपिन्छन् । उम्मेदवार हुन त सबैले पाउने नै भए तर हामी बीचबाट मिलेरै नेतृत्वका लागि एक जनाको उम्मेदवारी पर्छ’ पूर्वउपसभापति श्रेष्ठले भने, ‘सभापतिमा त्यस्तो व्यक्ति अघि सारिन्छ, जसको मुनि अरू नेता बस्न सहज हुन्छ ।’

६ पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्वका विषयमा केही दिनभित्रै बुद्धिजीवी र नागरिक समाजका अगुवासँग राजधानीमा छलफल गर्ने योजना बनाएका छन् । संस्थापनइतर पक्षबाट शेखर कोइराला र महामन्त्री गगन थापाबीच टक्कर देखिन थालेपछि पूर्वपदाधिकारीले गठजोड थालेका हुन् । यसमा सिटौला, निधि र सिंहले सक्रियतापूर्वक अग्रसरता लिइरहेका छन् । देउवाले आफू प्रधानमन्त्री नबनेसम्म आफ्नो उत्तराधिकारीको छनोट नगर्ने मनस्थिति बनाएको एक पूर्वपदाधिकारीले बताए । ‘उत्तराधिकारी छनोट गर्दा घेराबन्दी हुन सक्ने र त्यसले प्रधानमन्त्री बन्ने बाटोसमेत अवरुद्ध हुन सक्ने ठानेर देउवाले पार्टी महाधिवेशन र आफ्नो उत्तराधिकारीको विषय आफू प्रधानमन्त्री भएपछि मात्रै निर्णय लिने मनस्थिति बनाउनुभएको छ,’ उनले भने । अहिलेको गठबन्धन तलमाथि नभए देउवा एमालेसँगको सहमतिअनुसार ०८३ असारमा प्रधानमन्त्री बन्नेछन् ।

सभापति देउवाले आफू प्रधानमन्त्री हुनेबाहेक अरूमा चिन्ता नलिएको अर्कार् एक पूर्वपदाधिकारीले गुनासो गरे । ‘इतरपक्षबाट देश दौडाहा चलिरहँदा हामी किनारामा बसिराख्ने अवस्था छ । हामीमध्ये एक जनालाई अघि सार्न देउवालाई दबाब दिऔं भन्ने कुराकानी छ,’ उनले भने, ‘कांग्रेसमा हाम्रो सान्दर्भिकता सकिएको छैन । हामी डिलमा बसेर हेर्न सक्दैनौं । १५ औं महाधिवेशनको नेतृत्वका विषयमा हामी निरन्तर छलफलमा छौं ।’

१२ औं महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालाको पक्षमा रहेका नेताहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासमेतले १४ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन सहयोग गरेका थिए । सिटौलाले १३ औं महाधिवेशनदेखि नै देउवालाई सघाएका थिए । त्यति बेला आफैं सभापतिको प्रतिस्पर्धामा रहेका सिटौलाले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए । १३ औं महाधिवेशनमा देउवासँग रामचन्द्र पौडेल (हालका राष्ट्रपति) ले प्रतिस्पर्धा गरेका थिए । १४ औं महाधिवेशनमा सिंह र निधि दुवै सभापतिका प्रत्याशी थिए । त्यसमा देउवा र नेता शेखर कोइरालाबीच भएको दोस्रो चरणको निर्वाचनमा सिंह र निधि दुवैले देउवालाई सघाएका थिए ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully