आकस्मिक र सघन उपचार बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Warning of medical association to stop services except for emergency and intensive care

काठमाडौँ — नेपाल चिकित्सक संघले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा शुक्रबारदेखि देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

अध्यक्ष डा अनिल बिक्रम कार्कीले बुधबार संघ र आन्दोलनरत चिकित्सकहरूको बैठकपछि विज्ञप्ति जारी गर्दै तोकिएको समयसीमाभित्र माग सम्बोधन नभए सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी दिएका हुन् । सरकारले यसअघिका निर्णय र सहमति पालना नगरेकोले आन्दोलन थप सशक्त पार्नुपर्ने अवस्था आएको समेत  उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

आन्दोलनरत देशभरका सम्पूर्ण चिकित्सकहरूले बिहीबार बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ र उपत्यकाका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न संघले आह्वान गरेको छ । यस्तै निजी मेडिकल कलेजमा काम गर्ने सम्पूर्ण चिकित्सकलाई आफ्नो आकस्मिक तथा सघन उपचार सेवाबाहेक काम छोडी संघर्षमा आउन भनिएको छ । 

चिकित्सा शिक्षा आयोगको १८ औं बैठकको कार्यदलको बैठकमा १६ औं बैठकको निर्णय कार्यान्वयन र आन्दोलनरत चिकित्सकहरूलाई ससम्मान काममा बोलाउनुपर्ने अडान राख्दा पनि हालसम्म सरकारद्वारा कुनै पनि पहलकदमी नहुनु दुखदायी भएको अध्यक्ष कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले उदासीनताप्रति देखाएको भन्दै चिकित्सक संघ स्तब्ध भएको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully