कर्मचारी ट्रेड युनियनलाई थापाको आग्रह : निजामती विधेयकमा काम भइरहेको छ, मान राखिदिनुस्

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Thapa's request to the employees' trade union: Civil Bill is being worked on, respect it

काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले संघीय निजामती विधेयकमाथि राज्यव्यवस्था तथा सुशासन समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको बताउँदै कर्मचारी ट्रेड युनियनहरूलाई आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् । 

संसदीय समितिले संघीय निजामती विधेयक टुंगो लगाउन प्रयास गरिरहेका बेला ट्रेड युनियनहरूले आन्दोलनको घोषणा गर्नु सही नभएको थापाको भनाइ थियो ।

‘संसदीय समितिले मिहिनेतका साथ काम गरिरहेको बेलामा यसका सरोकारवाला पक्षहरूले पनि विधेयकको मान राखिदिनुपर्छ,' थापाले भने, 'हामी यहाँ बस्दैगर्दा जसरी आफूहरू आन्दोलनमा जाने भन्ने विषयहरू आएका छन्, यसलाई तुरुन्त रोक्नको लागि पनि म आग्रह गर्छु ।' 

निजामती कर्मचारीले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् । राज्यव्यवस्था समितिको मंगलबारको समितिको बैठकमा आफ्ना माग सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न समितिलाई अल्टिमेटम दिएका छन् ।

विधेयकलाई टुंग्याउन दबाब दिन तथा वातावरण नबिथोल्न थापाले आग्रह गरे । ‘हामीहरूले काम सुस्त गरिरहेको बेलामा दबाब दिने कुरा एकदम स्वाभाविक हो । त्यो जायज पनि हुन्छ,' उनले भने, 'तर बसेर, छलफल गरेर विषय टुंग्याउने कोसिस गरिरहेका विषयमा यसलाई टुंग्याउने विषयमा मद्दत गर्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully