काठमाडौँ — उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।
मन्त्री खट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।
‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,' भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने । उनले नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदाप्रदान र सहायता परिचालनका लागि एमओयु तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए ।
