रघुजी पन्त यस्ताे बेला शिक्षामन्त्री बनेका छन् कि उनीसँग किन्तु–परन्तुमा एकैक्षण समय खर्चने सुविधा पनि छैन
काठमाडौँ — २२ दिनदेखि शिक्षकहरु सडक आन्दोलनमा छन् । विद्यालय भर्ना, पठनपाठन, परीक्षा र उत्तरपुस्तिका परीक्षण लगायत शैक्षिक गतिविधि ठप्प छ । संसदीय समितिमा जारी विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल जारी छ, जुन पेचिलो बन्दै जाने निश्चित छ । त्रिभुवन विश्वविद्यालय एक सातायता निमित्त कुलपतिको काँधमा छ । यही बेला ६७ वर्षीय एमालेका समानुपातिक सांसद रघुजी पन्तको काँधमा शिक्षा मन्त्रीको जिम्मेवारी आइपरेको छ ।
अक्सर संसद्मा खरो बोल्ने र तिखो टिप्पणी गर्ने पन्तले शिक्षा क्षेत्रमा एकैचोटी देखापरेको यो संकट टार्लान् कि समस्यालाई बल्झाइराख्लान हेर्न बाँकी छ । किनकी उनी समस्याको चुलीमा एकैचोटी शिक्षामन्त्रीको रुपमा बस्न आइपुगेका छन् । त्यसैले उनको कामको समीक्षा गर्न लामो समय पर्खिन सकिने अवस्था छैन ।
पञ्चायतकालीन समयमा वामपन्थी धारको पत्रकारितामा सक्रिय पन्त यस्तो बेला शिक्षामन्त्री भएका छन्, उनको सामुन्नेमै समस्याको चाङ लागेको छ । अनि यो समस्याको केन्द्रमा शिक्षा मन्त्रालय मात्रै नभएर संसद्, अर्थमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म जोडिएको छ । अब मन्त्री पन्तले यी निकायहरुसँग कसरी समन्वय गर्छन् र निष्कर्षमा पुग्छन् त्यो हेर्ने यात्रा अब सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । उनको सपथ ग्रहण र पदभार ग्रहण भने बिहीबार हुने जनाइएको छ । प्रधानमन्त्रीसँग बढ्दो दुरी र असहमतिकाबीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको पृष्ठभूमिमा पन्त मन्त्री बनेका हुन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेको पन्त सोमबार मात्रै आफ्नो अभिव्यक्तिका कारण चर्चा र आलोचनामा तानिएका थिए । उनले राज्यव्यवस्था समितीमा विधेयकमाथि हुने दफावार छलफलमा रिपोर्टिङ गर्न आउने पत्रकारहरुलाई प्रतिबन्ध लगाउने अभिव्यक्ति दिएका थिए । त्यसो त तिखो अभिव्यक्तिका कारण उनी बारम्बार चर्चामा आइरहन्छन् ।
२०३२ सालदेखि पत्रकारिता सँगसँगै राजनीतिमा पनि रहेका पन्त २०५१ र २०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएर सांसद बनेका थिए । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार नियुक्त भएका उनी २०५४ देखि २०६५ सम्म एमाले केन्द्रीय सदस्य थिए । २०६१ सालमा भने उनी श्रम तथा यातायात व्यवस्था मन्त्री भएका थिए ।
हाल एमालेको स्थायी कमिटी सदस्य रहेका उनी एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा चयन भएका थिए । लामो राजनीतिक यात्राका कारण उनको व्यक्तित्वको आफ्नै लय त बनेको छ तर यो लयले यसपाला समस्याको निकास निकाल्न सक्छ कि सक्दैन भन्ने कुरा भने उनले कति समन्वयकारी भूमिका खेल्छन् भन्नेमै भर पर्नेछ ।
एक समय एमाले सांस्कृतिक, जल तथा उर्जा, प्रचार, कानुन, सामाजिक सेवा विभागको प्रमुख भएर काम गरेका पन्त पार्टीभित्र भने लेखपढमा रुचि राख्ने बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन् । पत्रकारितामा सक्रिय रहँदा उनले बुधबार, छलफल साप्ताहिक, नवयुग मासिक लगायत पत्रपत्रिकामा सम्पादकीय समूहमा रहेर काम गरे ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा उनी राजनीतिक सल्लाहकार रहेका थिए । सधैं नेपाल खेमामा रहेका उनी नेकपा विभाजन पछि भने एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा पुगे । २०७८ मा ओलीले संसद् विघटन गर्दा पन्तलगायत एमाले नेता विपक्षमा उभिएका थिए । सर्वोच्च अदालतको आदेशपछि ओली सरकार ढल्यो । एमाले–माओवादी मिलाएर गठन गरिएको नेकपा विभाजित बन्यो । माधव नेपाल लगायतका नेताहरु एमालेबाट अलग भएपनि पन्त लगायत नेताहरु भने एमालेमा नै रहेका थिए । संसद् विघटनको बेलामा ओली विरुद्ध रहेपनि पछि एमालेमै फर्केको भन्दै १० जना नेताहरुलाई ‘१० भाई’ को रुपमा पनि चित्रित गरिन्छ ।
शिक्षकको समस्या समाधान गर्न प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले असहयोग गरेको भन्दै शिक्षामन्त्री भट्टराईले राजनीनामा दिएको ताजा पृष्ठभूमिमा उनको भूमिका कस्तो रहन्छ भन्नेमा सबैको चासो देखिन्छ । अर्कोतर्फ विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य समितिमा दफाबार छलफलको चरणमा छ । शिक्षकहरुले विद्यालय शिक्षा ऐन संसद्बाट पारित भएपछि मात्र आन्दोलनबाट पूर्णरुपमा कक्षाकोठामा फर्कने बताउँदै आएका छन् ।
विद्यालय शिक्षामा स्थानीय तहको क्षेत्राधिकार, निजी विद्यालय र शिक्षकको व्यवस्थापनलगायत पेचिला विषय विधेयकमा टुंगो लगाउनु त्यति सजिलो भने छैन । अब सुझबुझपूर्ण ढंगबाट विद्यालय शिक्षा विधेयक टुंगो लगाउन उनले के कति भूमिका खेल्न सक्छन् भन्नेमात्रै नभएर तत्काल शिक्षकहरुको आन्दोलनलाई कसरी निष्कर्षमा पुर्याएर सन्निकट १२ कक्षाको परीक्षा सञ्चालन गर्छन् भन्नेजस्ता गम्भीर कामहरु तत्काल उनको अघि छन् ।
