गर्मी बढेसँगै सतर्कता अपनाउन विपद् प्राधिकरण र मौसम विभागको आग्रह

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Disaster Authority and Meteorological Department urge to be cautious as the heat increases

काठमाडौँ — तराईका जिल्लामा केही दिनयता तापक्रम बढेसँगै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नाघेसँगै प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेका हुन्।

'देशभर तापक्रम बढिरहेको अवस्था छ। मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तापक्रम ३८ डिग्री सेल्सियस आसपास रहेको छ,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

'वैशाख १० र ११ गतेको मौसम पूर्वानुमान अनुसार कुनै मनसुन प्रणाली सक्रिय नरहेको, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम यथावत् रहने र अझै बढ्ने सम्भावना छ,' उनले भने।

यसले केही समय पानी कम पर्ने र तातो लहर (हिट वेभ) को सम्भावना रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

यसैगरी प्राधिकरणले पनि गर्मी र चर्को घामबाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कन, गर्मी बढाउने खानेकुरा नखान, शीतल स्थानमा बस्न र बाहिर निस्कनु परे पातलो कपडा लगाउन अनुरोध गरेको छ।

कान्तिपुर

Link copied successfully