सभामुखसँगको भेटपछि एमाले मुख्य सचेतकको प्रश्न- ‘सार्वजनिक शिक्षाप्रति शिक्षकको जवाफदेहिता के ?

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

After the meeting with the Speaker, the question of the UML Chief Whip - ”What is the accountability of teachers towards public education?”

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले सार्वजनिक शिक्षाका सम्बन्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुको जवाफदेहिता माग गरेका छन् ।

बुधबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि मुख्य सचेतक बर्तौलाले सार्वजनिक शिक्षाका सम्बन्धमा शिक्षकहरूको जवाफदेहिता माग गरेका हुन् । 

संसद्ले विद्यालय शिक्षा विधेयक अगाडि बढाइरहेको अवस्थामा शिक्षकहरू आन्दोलनमा उत्रिनु सही नभएको बर्तौलाको भनाइ थियो । शिक्षकहरूले उठाएका न्यायोचित माग पूरा गर्ने पनि उनको भनाइ थियो । ‘सार्वजनिक शिक्षाप्रति शिक्षकको जवाफदेहिता के ? उहाँहरू स्वयंले जान्नुहोस् । त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस् तर सरकारले उहाँहरूका न्यायोचित माग पूरा गर्छ,' बर्तौलाले भने । 

सरकारले गरिरहेको पहललाई शिक्षकहरूले सकरात्मक रूपमा लिनुपर्ने पनि बर्तौलाको भनाइ थियो ।

'शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ । हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनु पर्ने अवस्था छ र  त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरुमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्‍यो,' उनले भने, 'त्यसमा उहाँहरू सकारात्मक भएर नियमित काममा, शैक्षिक गतिविधिमा जोडिने कुराहरू नै उहाँहरूका लागि पनि हितकर हुन्छ भन्ने हाम्रो सार्वजनिक अपिल हो आग्रह हो ।’

कान्तिपुर

Link copied successfully