काठमाडौँ — चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका 'कमाण्डर' दुर्गा प्रसाईं र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २४ जनालाई जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद थपेको छ ।
जिल्ला प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार राज्यविरुद्धको कसुरमा अनुसन्धानमा रहेका २४ जनालाई नै अदालतबाट पुन: ३ दिनको म्याद थप भएको हो ।
दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी र चिकित्सकको निगरानीमा औषधोपचार गराइरहेको भनेर र रवीन्द्र मिश्रले आवश्यक स्वास्थ्य जाँच र चिकित्सकको सिफारिस अनुसार उपचारको प्रबन्ध गराउनका लागि निवेदन दिएकाले काठमाडौं जिल्ला अदालतले उनीहरुको हकमा उपचारको उपयुक्त प्रबन्ध गराउन निर्देशन दिएको छ । सो अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाड्ने वा तारेखमा राख्न सक्ने सम्बन्धमा अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकिलको कार्यालयलाई जानकारी गराउन भनिएको छ ।
राजावादीहरुको हिंस्रक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रहरीले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहितका नेताहरु र अन्य गरी ८४ जनालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
थुनामा रहेका २४ हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । - सम्पादक
