प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके 'कान समातेर उठबस गर्छु' भनेर वाचा गराउनुपर्छ : वामदेव गौतम

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Those who become prime ministers should be made to promise that if they are unable to work, they will hold their ears and stand up: Vamdev Gautam

काठमाडौँ — राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढङ्गले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे।

नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ।

उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे। उनले छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे।

उनले भने, 'पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो। त्यसपछि बसेर योजना बनाउनुपर्‍यो। पिउने पानीदेखि विद्यालयसम्म जतिसुकै आवश्यक छ, त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन। यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर— ‘यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु’— भन्ने वाचा गराउनुपर्‍यो। यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्। समस्याको समाधान यसरि गर्ने हो, यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ। अब आधारभूत रूपमा काम गर्न नसकेसम्म अगाडि बढ्न सकिन्न।'

व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ।

कान्तिपुर संवाददाता

Link copied successfully