राष्ट्रका लागि राम्रो गर्नेलाई घेराबन्दी : प्रधानमन्त्री

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Siege of those who do good for the nation: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले राष्ट्रियता र अग्रगमनका मुद्दा उठाएका कारण घेराबन्दीको सामना गर्नुपरेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संस्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राम्रो गर्न खोज्दा आफू आलोचनाको तारो बन्नुपरेको दाबी गरे ।

उनले भने, 'गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन। समाज विगार्ने, अपराधीहरू, राष्ट्रलाई नोक्सान गर्न खोज्नेहरूले राष्ट्रका लागि राम्रो गर्न खोज्नेहरूलाई सबैभन्दा चर्को घेराबन्दी गर्ने काम गरेका छन्। यसमा विभिन्न प्रकारका शक्तिहरू सामेल भइरहेका छन्।'

प्रधानमन्त्री ओलीले एमालेकै नेताहरूले पनि आफ्नै नेतृत्वप्रति शंका गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, 'विरोधीहरूले सङ्गठित हमला गर्छन्। हाम्रा साथीहरू पनि कताकता यत्तिकै विरोध भएको हो कि भन्ने आशंका गरेर बोल्ने गरेको पाइन्छ। भ्रममा पर्न खोजिएको हो कि?'

उनले नेकपा (एमाले) लाई विदेशी शक्तिहरूले समर्थन नगर्नुको कारण पार्टीले राष्ट्रियताको मुद्दा उठाएको बताए । उनले भने, 'विभिन्न प्रकारका विदेशी शक्तिहरूले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन्। मैले राष्ट्रियताको सवाल उठाएर विरोधको सामना गरिरहेको छु। जनताको कुरा उठाएर आलोचनाको तारो बनेको छु। आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ र?'

प्रधानमन्त्री ओलीले आफूले उठाइरहेका मुद्दाहरू छाडेमा सबै ठाउँबाट सम्मान पाइने भन्दै भने, 'हामीले राष्ट्रियताको मुद्दा छाड्यौँ, राष्ट्रिय गौरवका कुरा गर्न छाड्यौँ भने हाइहाइ भइहाल्छ। मैले गति छाडे हाइहाइ गरिहाल्छन् नि। तर हाम्रो पथ त्यो होइन। हामी महान परिवर्तनको उद्देश्य लिएर आएका हौँ।'

कान्तिपुर

Link copied successfully