सगरमाथा संवाद : विकास साझेदार र संघसंस्थाबाट सहयोगको प्रतिबद्धता बढ्दै 

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Everest Dialogue: Increasing commitment of support from development partners and organizations

काठमाडौँ — पहिलो संस्करणको सरगमाथा संवाद २०२५ आयोजना हुन २३ दिन मात्र बाँकी हुँदा विकास साझेदार र संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आइरहेको सरगमाथा संवाद सचिवालयले जानकारी दिएको छ । 

जेठ २, ३ र ४ गते काठमाडौंमा आयोनजा हुने सगरमाथा संवादका लागि विभिन्न विकास साझेदार र संघसंस्थाले सहयोगको प्रतिबद्धता नेपाल सरसकारसँग गरेका हुन् ।

जसमा एशियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), सेभ द चिल्ड्रेन, यूएन एजेन्सी, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई), युथ अलाइन्स फर इन्भाइरोमेन्ट (वाईएई) र साथसाथै फाउन्डेसनले नेपाल सरकारसमक्ष सगरमाथा संवादका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । 

सचिवालयको अनुसार यी विकास साझेदार र संघसंस्थाले संवाद आयोजना, संवाद आयोजना व्यस्थापन, विदेशी पाहुनाको व्यवस्थापन, प्रचारप्रसार सामग्री निर्माण, स्वयसेवक परिचालनलगायत विषयमा लाग्ने खर्चमा सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।

यसैगरी नेपाल टुरिजम बोर्डले पनि संवादको अन्तिम दिन विशेष आमन्त्रित पाहुनाका लागि सगरमाथा उडानको खर्चमा सहयोग गर्ने सचिवालयले जानकारी दिएको छ । 

संवाद आयोजनामा सहयोग गर्न र यसमा सहभागी हुन नेपाल सरकारले विकास साझेदारलाई अनुरोध समेत गरेको छ । यसको नेपालले खुला हृदयले स्वागत गर्ने यसअघि नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जनाएकी छन् । 

सगरमाथा संवादको पूर्वसन्ध्यामा साथसाथै फाउन्डेसन र सेभ द चिल्ड्रेनले विभिन्न कार्यक्रम आयोजना गरेको छ । साथसाथै फाउन्डेसनले वैशाख ९ मा आरोही सम्मेलन आयोगना सम्पन्न गरेको छ । यसैगरी सेभ द चिल्ड्रेनले बैशाख ९ र १० मा कर्णाली प्रदेशमा ‘हिमाली संवाद’ कार्यक्रम आयोजना गरेको छ । सचिवालयका अनुसार बैशाख १३ मा बालबालिका तथा युवा (वायु) संवाद काठमाडौंमा आयोजना गर्ने तयारी समेत भईरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully