नेकपा विभाजनबारे ओलीको गम्भीर आरोपः परिचालित कठपुतलीहरूले पार्टी फुटाए

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Oli's serious allegation about the division of CPN: The manipulated puppets split the party

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

नेकपा स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुवै नेतालाई ईर्ष्यालु, अरूबाट परिचालित, असहिष्णु र डाह गर्ने व्यक्तिका रूपमा उल्लेख गर्दै उनीहरूले कम्युनिस्ट पार्टी एकताबद्ध हुन नदिएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले भने, '०७५ मा आइपुग्दासम्म हामीले कम्युनिस्ट पार्टीलाई झन्डै दुई-तिहाइको शक्तिको रूपमा उभ्याएका थियौँ। नेपालको इतिहासमा यति मजबुत शक्ति यसरी जनताबाट अनुमोदित भएर देखिएको थिएन। तर केही ईर्ष्यालु व्यक्तिहरू, केही परिचालित कठपुतलीहरू, असहिष्णु र डाह गर्नेहरूले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिए। उनीहरूले अर्को प्रकारको नीति अख्तियार गरेर अन्ततः पार्टी फुटाए।'

उनले थपे, 'दुई-तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौँ भनेर एमालेभित्र पसेर किर्नाझैँ भएर कुडे। कोही १३ वर्ष, कोही १५ वर्षसम्म यही पार्टीको नेतृत्वमा बसे। अन्ततः निर्लज्ज ढङ्गले यही पार्टीलाई सिध्याउने प्रयास गरे। जुन आमाको दूध खाएर हुर्किए, त्यही आमालाई अस्तित्व नै नराखी मार्न तम्सिने प्रवृत्ति अपराधी सोचको परिणति हो।'

कान्तिपुर

Link copied successfully