शिक्षा विधेयकको छलफलमा किन पुगे भूमि व्यवस्था मन्त्री ?

'शिक्षामन्त्रीको अनुपस्थितिमा विधेयकमाथि छलफल अघि बढाउन प्रधानमन्त्री कार्यालयबाट भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी'

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Why did the minister of land management come to the discussion of the education bill?

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी सहभागी भएका छन् ।

शिक्षा सचिव दीपक काफ्लेले मन्त्री अधिकारीको उपस्थितिमा विधेयकमाथि छलफल भएको जनाए । संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअर्न्तगतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ ।

वैशाख २३ सम्म उपसमितिलाई प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । ‘शिक्षामन्त्रीको अनुपस्थितिमा विधेयकमाथि छलफल अघि बढाउन प्रधानमन्त्री कार्यालयले भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी दिएको छ,’ सचिव काफ्लेले भने ।

शिक्षक आन्दोलन चर्कँदै जाँदा प्रधानमन्त्रीसँगको असन्तुष्टि र असहयोगका कारण भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् । राजीनामा भने स्वास्थ्यको कारण देखाइएको छ । उनले शिक्षकका केही माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌मा प्रस्ताव गरेकी थिइन् । तर प्रस्तावमा प्रधामन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल सकारात्मक नभएपछि राजीनामा दिएको शिक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय शिक्षक आन्दोलन चर्किँदै गए पनि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच त्यसअघिदेखि नै समन्वयमा कमी रहेको देखिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully