सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेन : घनश्याम भुसाल

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Maoists could not come out of greed for power: Ghanshyam Bhusal

काठमाडौँ — एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए। कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन्? भन्दै उनले प्रश्न गरे । उनले कांग्रेस लायक पार्टी नभएको आरोप पनि लगाए ।

उनले भने, 'मैले पटक–पटक भन्ने गरेको छु, कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो। त्यो अरू नालायक भए लायक भएर देखिन्छ, अरू लायक भए त्यसको महत्त्व नै रहँदैन।'

उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनु पर्ने तर्क गरेर हिँडिरहेको उल्लेख गर्दै, यसबाट देश बन्न नसक्ने जिकिर गरे । प्रधानमन्त्रीविरुद्ध अहिले देशभर नाराबाजी भइरहे पनि जनतामा विश्वास नरहेको भन्दै उनले टिप्पणी गरे । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए। 

उनले भने, 'अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ— नेकपा (माओवादी केन्द्र)। माओवाद भनेर नाम राखेको छ। के हो माओवाद? व्याख्या पनि गर्न सक्दैन। किन राखेको हो थाहा छैन। 'लुकिङ लन्डन, टकिङ टोकियो।' माओवाद भनेको यता हेरेर उता कुरा गर्ने। सिद्धान्त कता हो थाहा छैन। के सन्दर्भमा छ? माओवादबाट हेर्दा समाज, भू–राजनीति के कता देखिन्छ? अर्कै देखिन्छ। त्यस्तो सिद्धान्त लिएर हिँडेको छ। त्यसले क्रान्ति गर्नै सक्दैन। त्यसले यस्तै गर्दछ— 'हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो, त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ।' तर्क प्रणाली यही हो।

उनले प्रदर्शनमा आउनेहरूले ‘आइ लभ यु केपी बा’ नभई ‘क्रान्तिको हिसाब देऊ’ भन्ने माग गर्नुपर्ने धारणा राखे ।

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतीहरू फाइदामा रहेको बताए। उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे।

कान्तिपुर

Link copied successfully