नेकपा स्थापना दिवस : आफैं चिराचिरामा विभाजित तर जहिल्यै एकताको रटान

वैशाख ९, २०८२

गंगा बीसी

CPN Foundation Day: Divided into factions but always a rallying cry of unity

काठमाडौँ — दर्जनभन्दा बढी भंगलामा विभाजन भएका नेपालका कम्युनिस्ट पार्टीले आ–आफ्नो ढंगले नेकपा स्थापना दिवस मनाउँदै एकतामा जोड दिएका छन् । नेकपाका विभिन्न व्यानरमा रहेका कम्युनिस्ट पार्टीका नेताहरूले कम्युनिस्ट एकताबाट मात्र क्रान्ति सम्भव भएको बताएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले सभा गरे पनि अन्य केही दलले विज्ञप्ति जारी गरेर नेकपा स्थापना दिवस मनाएका हुन् । नेपालमा २००६ वैशाख ९ मा नेकपा स्थापना भएको दिनलाई सम्झना गर्दै यहाँका कम्युनिस्ट पार्टीहरूले ‘नेकपा स्थापना दिवस’ मनाउँदै आएका छन् ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले भारतको कोलकातामा नेकपाको गठन गरेका थिए । नेकपाको पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा चयन गरेको थियो ।

२०१० माघ १० मा भूमिगत रूपमा पाटन, ललितपुरमा भएको महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्ने सम्बन्धमा निर्णय गरेको थियो । संस्थापक अध्यक्ष श्रेष्ठ दोस्रो वरीयतामा रहेका थिए । त्यसबेलादेखि नेकपामा विभाजनको बीजारोपण भएको मानिन्छ ।

त्यसपछि नेकपामा विभाजनको शृंखला नै चलेको छ । नेकपाको पहिलो महासचिव मनमोहन अधिकारीको विरासत बोकेको नेकपा एमाले सबभन्दा ठूलो पार्टी बनेको छ भने २०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनमा केन्द्रीय सदस्य रहेका मोहनविक्रम सिंहको पार्टी ‘मिनी कम्युनिस्ट’ पार्टीका रूपमा क्रियाशील छ ।

सधैं एकताको कुरा गर्ने तर कहिल्यै मिल्न नसक्ने प्रवृत्ति पछिल्लो समय नेकपा (२०७७ फागुन) र त्यसपछि एमाले (२०७८ भदौ) विभाजनसम्म निरन्तर छ । २०४८ पछि सशस्त्र युद्धको तयारी गरी २०५२ फागुनमा बन्दुक उठाएको माओवादी नै १० चिरामा विभाजन भइसकेको छ ।

सरकारको नेतृत्व गरेको एमालेले मंगलबार प्रज्ञा प्रतिष्ठानमा भव्य सभा गरी नेकपा स्थापना दिवस मनायो । अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन अघि बढाउने अभिभार एमालेको भएको भन्दै २०८४ को निर्वाचनमा निर्णायक पार्टी बनाउने दाबीसमेत गरे ।

गत असारमा प्रतिपक्षमा पुगेको माओवादीले केन्द्रीय कार्यालय प्रांगण पेसिडाँडामा सानो सभा गरी स्थापना दिवस मनाएको छ । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले एक पार्टीे प्यालेस र माओवादीबाट विभाजन भएको नेकपाले राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रमसहित नेकपा स्थापना दिवस मनाएका छन् ।

नेपालका कम्युनिस्ट दलका नेताहरूले भन्दै आएको तर लामो समय टिकाउन नसक्ने कम्युनिस्ट एकतालाई नियमित प्रक्रियाकै रूपमा अघि बढाएका छन् ।

एमालेबाट अलग भएका स्वतन्त्र वामपन्थी नेता मणि थापाले नेपालका कम्युनिस्ट पार्टीहरूले एकताका कुरा गर्नु नौलो नभएको बताए । ‘यहाँका कम्युनिस्टहरूले एकताको कुरा गर्नु नयाँ कुरा होइन,’ उनले भने, ‘कहिले मिल्ने, कहिले फुट्ने त यहाँको निरन्तर प्रक्रियाजस्तो भइसकेको छ ।’

२०४६ सालपछि संसदीय धार लिएको एमाले र २०५२ देखि १० वर्ष सशस्त्र युद्ध गरी संसदीय कार्यदिशा लिएको माओवादीबीच २०७५ जेठमा भएको एकता नेकपाको इतिहासमै ठूलो घटना थियो । तर त्यो एकता २०७७ फागुनसम्म मात्र टिक्यो । २०७४ को निर्वाचनमा करिब दुईतिहाइ बहुमत ल्याएको नेकपा विभाजन हुनुको मुख्य कारण दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शक्ति संघर्ष थियो । 

एमाले र माओवादीबीच एकता भई बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले पहिल्यै नेकपा दर्ता रहेको भन्दै पछिल्लो नेकपा खारेजीको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले दुई दललाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।

मंगलबार नेकपा स्थापना दिवसमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन अघि बढाउने आफ्नो दल मात्र भएको उल्लेख गर्दै माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टुटफुट र विभाजनको पक्षमा भएको बताए ।

उनले दुवै नेतालाई ईर्ष्यालु, अरुबाट परिचालित, असहिष्णु र डाह गर्ने नेता भन्दै आलोचना गरे । ‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिने यिनै शक्ति हुन्,’ उनको भनाइ थियो । ओलीले एमाले फुटाउनेलाई अपराधीको समेत संज्ञा दिए ।

‘०७५ मा आइपुग्दा हामीले कम्युनिस्ट पार्टीलाई झण्डै दुई तिहाहको शक्तिका रूपमा उभ्यायौं । नेपालको इतिहासमा यति मजबुत शक्ति देखापरेको थिएन । केही ईर्ष्यालु मान्छेहरू, केही परिचालित कठपुतलीहरूका कारणले असहिष्णु, डाह गर्नेले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिने, एकता हुन नदिएर अर्को प्रकारको विवाद, एउटा नीति अख्तियार गरेर अन्तिममा पार्टी फुटाएर छोडे,’ ओलीको भनाइ थियो, ‘दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौं भनेर एमालेभित्र पसेर किर्णु भएर कुदे । जो कोही १३ वर्ष, कोही १५ वर्ष नेतृत्वमा बसे । यही पार्टीको नेतृत्वमा बसे । निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछु भनेर लागे । जुन आमाको दूध चुसेर हुर्क्यो, त्यही आमालाई अस्तित्व नराखी मार्न तम्सिएर अपराधी प्रवृत्ति हावी भयो ।’

उता माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालले कम्युनिस्ट एकतामा जोड दिए । उनले कम्युनिस्ट पार्टीको सङ्गर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिस्ट आन्दोलन विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको भन्दै एकता आवश्यकता भएको बताए । ‘आजको आवश्यकता कम्युनिस्टहरूलाई फेरि एकताबद्ध गर्नु हो । हामी विचार, सिद्धान्त र सच्चा कम्युनिस्टहरूको वैचारिक आधारमा एकता चाहन्छौं,’ उनले भने, ‘हामी जनतामाझ पुगेर आफ्ना कमजोरी सच्याउने प्रक्रियामा छौं ।’

माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाबीच एकता गर्ने सहमति भए पनि हुन सकेको छैन । नेकपा स्थापना दिवसकै दिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीसँग हिसाबकिताब माग्नुपर्ने बताए ।

‘देशको अवस्था यस्तो छ । अब आई लभ यू केपी बा होइन, कम्रेड केपी ओली आन्दोलनको हिसाब देऊ, पार्टी विघटन र संसद् विघटनको हिसाब किताब देऊ भन्नु पर्ने होइन ?’ उनले माओवादी गणतन्त्र भोग गर्न व्यस्त भएको बताउँदै भने, ‘माओवादीले गणतन्त्र हामीले ल्याएको हो । यसको भोग पनि हामीले नै गर्ने हो भन्ने तर्क गर्छन् ।’

२०७७ मा नेकपा विभाजन भएको अर्को वर्ष २०७८ भदौमा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भयो । कम्युनिस्ट आन्दोलनमा यो नै पछिल्लो टुटफुट हो । हाल एमाले र एकीकृत समाजवादी संसदमा अस्तित्वमा रहेका छन् ।

सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको र २०६४ सालमा सबभन्दा ठूलो दल बनेको माओवादी अनेकौं टुटफुटपछि गएको आम निर्वाचनमा तेस्रो दलमा खुम्चिन पुगेको छ ।

२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राखियो ।

२०४५ सालदेखि दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ मा विभाजन भयो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असमति जनाउँदै अर्को पार्टी गठन गरे ।

माओवादी केन्द्रमा दाहाल अध्यक्ष, क्रान्तिकारी माओवादीमा वैद्य महासचिव, नेपाल कम्युनिस्ट पार्टीमा नेत्रविक्रम चन्द महासचिव, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा बाबुराम भट्टराई अध्यक्ष छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव र तेस्रो जनआन्दोलन नेपालमा गोपाल किराँती संयोजक छन् । माओवादीका नाममा अरु दल पनि निर्वाचन आयोगमा दर्ता छन् ।

२०५४ सालमा एमालेबाट अलग भई वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन गरेका सीपी मैनाली अहिले पनि त्यही पार्टीमा रहेका छन् । गौतम भने चार वर्षपछि एमालेमा फर्केका थिए । मैनाली महासचिव रहेको माले संसदमा अस्तित्वमा छैन । 

निर्वाचन आयोग दर्ता भएका र नभएका कम्युनिस्ट पार्टीहरू

नेकपा एमाले  : अध्यक्ष– केपी शर्मा ओली

माओवादी केन्द्र : अध्यक्ष– पुष्पकमल दाहाल

नेकपा एकीकृत समाजवादी  : अध्यक्ष– माधवकुमार नेपाल

राष्ट्रिय जनमोर्चा/नेकपा मसाल  : अध्यक्ष– चित्रबहादुर केसी/महामन्त्री मोहनविक्रम सिंह

क्रान्तिकारी माओवादी पार्टी  : मोहन वैद्य

नेपाल कम्युनिस्ट पार्टी  : नेत्रविक्रम चन्द

नेपाल समाजवादी पार्टी  : अध्यक्ष– बाबुराम भट्टराई

नेपाल मजदुर किसान पार्टी  : अध्यक्ष– नारायणमान बिजुक्छे

आम जनता पार्टी  : अध्यक्ष– प्रभु साह

नेकपा बहुमत  : महासचिव– धर्मेन्द्र बास्तोला

वैज्ञानिक समाजवादी पार्टी  : महासचिव– आहुती

नेकपा माले  : महासचिव– सीपी मैनाली

नेकपा राष्ट्रिय एकता अभियान  : अध्यक्ष– वामदेव गौतम

नौलो जनवादी पार्टी  : अध्यक्ष– गंगा श्रेष्ठ

नेकपा (मार्क्सवादी) :  अध्यक्ष– अम्बिकाप्रसाद वैद्य

नेपाल कम्युनिस्ट पार्टी :  अध्यक्ष– लोकनारायण सुवेदी

नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी) :  अध्यक्ष– मिलननाथ देवकोटा

माओवादी कम्युनिस्ट पार्टी, नेपाल :  अध्यक्ष– रामनारायण प्रसाद पाल

नेकपा मार्क्सवादी (पुष्पलाल) :  अध्यक्ष– मानध्वज गुरुङ

माओवादी जनमुक्ति पार्टी, नेपाल :  अध्यक्ष– रामबहादुर गुरुङ

जनताको जनवादी पार्टी :  अध्यक्ष– सन्ध्या तिवारी

नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक :  अध्यक्ष– सुदीप रुवाली

नेकपा परिवर्तन :  अध्यक्ष– जोगमान लामा

नेकपा समाजवादी :  अध्यक्ष– राजु कार्की

नेकपा माओवादी समाजवादी :  अध्यक्ष– कर्णजीत बुढाथोकी

गंगा

Link copied successfully