३८०० मिटर उचाईमा ‘आरोही सम्मेलन’ सम्पन्न

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

'Arohi Sammelan' completed at 3800 meters height

काठमाडौँ — जलवायु परिवर्तनले पारेको असर देखाउन ३८०० मिटर उचाईमा रहेको सोलुखुम्बुको थामेमा ‘आरोही सम्मेलन’ आयोजना गरिएको छ । वैशाख ९ मा पर्ने पृथ्वी दिवसको अवसर पारेर साथसाथै फाउन्डेसनको आयोजना र तीनै तहका सरकारको सहकार्यमा सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनमा रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरू कामिरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङलगायत सहभागी थिए । 

गत साउनमा थामेमा आएको लेदोसहितको बाढीले थामे क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव देखाउन सम्मेलन आयोजना गरिएको फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

यसैगरी आगामी जेठ २,३ र ४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादमा साथसाथै फाउन्डेसन जोडिएको र संवादको पूर्वसन्ध्यामा जलवायु परिवर्तनको जोखिम देखाउन थामेमा आरोही सम्मेलन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन् । 

यस कार्यक्रमको संघ, कोशी प्रदेश सरकार र स्थानीय सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका सह–आयोजक रहेका थिए ।

कान्तिपुर

Link copied successfully