बिदेसिएका श्रमिकको हितमा सरकारले थप कार्यक्रम ल्याउँछ : मन्त्री पौडेल

वैशाख ८, २०८२

रासस

The government will bring more programs for the benefit of expatriate workers: Minister Paudel

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका लागि केही महत्वपूर्ण कार्यक्रम तय गर्ने बताएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘नेपाल फेस्टिभल २०२५’ को उद्घाटन गर्दै आज उनले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको र यसको समाधानका लागि केही कार्यक्रम ल्याउने बताए ।

'तपाईंहरुको स्वास्थ्य हाम्रो पनि चिन्ताको विषय हो । देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं,' उनले भने । विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको उनले जानकारी गराए । 'स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकता साथ काम गरिरहेको छ । यूएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,' उनले भने ।

नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका नागरिकलाई कम्तीमा एकपटक नेपाल भ्रमण गर्ने वातावरण बनाउन उनले अनुरोध गरे ।

रासस

Link copied successfully