प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदै

वैशाख ८, २०८२

विवेक पोख्रेल

Investigating banking offenses and money laundering against Prasai

काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गराइ अनुसन्धान गरिरहेको छ ।

ब्युरोले चैत्र १७ गते प्रसाईंविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन (मनी लाउन्डरिंग), २०६४ मा मुद्दा दर्ता गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । उनका अनुसार उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिइ प्रसाईंविरुद्ध थप अनुसन्धान हुँदैछ । 

‘प्रसाईं र उनको परिवार सम्बद्ध फर्म र कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा उद्देश्य विपरीत उपयोग गरेको आरोप छ,’ उपरीक्षक शाहीले भने, ‘उनी र उनको परिवारको खातामा शंकास्पद कारोबारहरु भएको समेत देखिएको छ ।’ उनका अनुसार नेपाल राष्ट्र बैंकले माघ २३ मा अनुसन्धान गरी कारबाही गर्न ब्यहोराको पत्र पठाएको थियो ।

बैंक र वित्तीय संस्थाबाट कर्जा लिँदा उल्लेख गरेको प्रयोजनभन्दा अन्यत्र कर्जाको रकम उपयोग गरी कर्जा दुरुपयोग गरेको, विभिन्न बैंक वित्तीय संस्थामा रहेको कर्जा चुक्ता गर्न अर्को कर्जाको रकम उपयोग गरेको, प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघि कर्जाको बक्यौता साँवा ब्याज भुक्तानी नियमित नभएको, परियोजनालाई आवश्यक पर्नेभन्दा बढी कर्जा उपयोग गरेको लगायतका दर्जनौं आरोप राष्ट्र बैंकले प्रसाईंमाथि लगाएको छ । 

चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि प्रसाईं प्रहरी परिसर काठमाडौंको थुनामा छन् । त्यो दिन प्रसाईंले गाडी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा उल्लंघन गरेका थिए । उनले भीडलाई हिंस्रक बन्न उक्साएका पनि थिए । त्यसपछि भारतको आसाम पुगेर नेपालीभाषीको घरमा बसेका प्रसाईं प्रहरीले उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । सीआईबीले पनि काठमाडौं प्रहरी परिसरसँगै आफूहरुले अनुसन्धान लिने र बयान लिने काम गर्ने शाहीले बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully