कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

वैशाख ८, २०८२

तुलाराम पाण्डे

Four killed in tractor accident in Calicut

कालिकोट — कालिकोटकाे पलाँता गाउँपालिका-२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ।

पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा राति ११:३० मा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए। दुर्घटनामा मुगु खत्याड-५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, पलाँता-४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको छ।

राति नै कहरदेव अस्थाइ प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल गएको डीएसपी रावतले जानकारी दिए। उनका अनुसार मेटिएको अवस्थामा भएकाले ट्र्याक्टरको नम्बर खुलेको छैन । ब्लु बुक पनि भेटिएको छैन। ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको छ। 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully