काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘सगरमाथा संवाद २०२५’ औपचारिक छलफल मात्र नभइ नेपालको आतिथ्यता, व्यवस्थापन क्षमता र वातावरणीय नेतृत्वको प्रदर्शन गर्ने अवसर रहेको बताएका छन् ।
‘संवादमा विदेशबाट पाल्नुहुने उच्चस्तरीय पाहुना जसमा राष्ट्र प्रमुख, मन्त्री, विषय विज्ञ, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रतिनिधि हुनुहुन्छ,’ उनले भने, ‘पाहुनाको आगमन, आवास, सुरक्षा र स्वागत सत्कारदेखि लिएर सगरमाथा क्षेत्रमा विशेष पर्वतीय उडानको तयारी गरेका छौं ।’
संवादमा सहभागी हुन नेपालले ४५० भन्दा बढी विदेशी पाहुनालाई निम्तो गरिएको छ । साथै संवादमार्फत नेपालको हिमाली क्षेत्रको संवेदनशीलता र सौन्दर्यलाई प्रत्यक्ष अनुभूति गराउने लक्ष्य पनि रहेको उनले बताए ।
जेठ २, ३ र ४ गते आयोजना हुने पहिलो संस्करणको संवादमा वन मन्त्रालयले नेतृत्वदायी भूमिका निभाउँदै, नेपाल जस्ता पर्वतीय मुलुक तथा साना टापु राष्टरुमा देखा परिरहेका जलवायु संकटका मुद्दालाई एकै ठाउँमा राखेर अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा ल्याउने प्रयासमा अग्रसर रहेको उनको भनाइ छ ।
‘संवादमार्फत छलफल गर्दा जलवायु परिवर्तनले पारेको प्रभाव र असरलाई न्यूनीकरण तथा व्यवस्थापन गरी प्रकृति र मानवताबीच सह–अस्तित्व कायम राख्ने र मानवता बचाउने अन्तिम लक्ष्य राखिएको छ,’ उनले भने, ‘यो संयोजनले सगरमाथा संवादलाई भिजन र कार्यान्वयन दुवै हिसाबले सशक्त बनाउनेछ ।’
