काठमाडौँ — जलवायु परिवर्तनले पारेको असर देखाउन सोलुखुम्बुको थामेमा ‘आरोही सम्मेलन’ गरिँदै छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत वर्ष साउन ३२ मा आएको लेदोसहितको बाढीले जनधनको ठूलो क्षति पुर्याएको थियो । सोही क्षतिलाई देखाउन साथसाथै फाउन्डेसनको आयोजना र तीनै तहका सरकारसँगको समन्वयमा वैशाख ९ मा आरोही सम्मेलन आयोजना हुन लागेको हो ।
साथै उक्त आरोही सम्मेलन सरकारले गर्न लागेको ‘सगरमाथा संवाद २०२५’ मा पनि जोडिएको छ । फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले आरोही सम्मेलनलाई सगरमाथा संवादको प्रि–इभेन्टको रूपमा लिएको बताइन् ।
‘सम्मेलनका लागि हामीले सरकारबाट एउटा अनुमति पनि पाएका छौं । त्यही भएर यसलाई सगरमाथा संवादको प्रि–इभेन्ट भनेका छौं,’ उनले भनिन्, ‘यसमा तीनै तहका सरकार सहभागी छन् । फाउन्डेसनले विगत चार वर्षदेखि जलवायु न्यायको वकालत गरिरहेको छ । त्यही भएर संवादको यो एक हिस्सा हो ।’
सम्मेलनमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी पनि सहभागी हुँदैछन् । मन्त्री शाहीले उक्त सम्मेलनमार्फत विश्वलाई जलवायु परिवर्तनले थामेमो पारेको प्रभाव देखाउन खोजिएको बताए । ‘सगरमाथा संवादको पूर्वसन्ध्यामा सगरमाथाकै फेदी खुम्बु गाउँपालिकामा जलवायु परिवर्तनले पारेको प्रभाव हेर्न सोही स्थलमा कार्यक्रमको आयोजना हुन गइरहेको छ,’ उनले भने, ‘त्यसमा पनि सहभागी हुन गइरहेका छौं । र त्यहाँ जलवायु परिवर्तनले कसरी असर पारेको छ भनेर प्रत्यक्ष देखिनेछ ।’
सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरू कामिरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङलगायत सहभागी हुने फाउन्डेसनकी अध्यक्ष कार्कीले जानकारी दिइन् । संघ, कोशी प्रदेश सरकार र स्थानीय सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका सह–आयोजक छन् ।
‘वैशाख ९ गते पृथ्वी दिवस पर्छ र त्यहीमाथि थामेमै कार्यक्रम गर्नु भनेको गत वर्ष जलवायु परिवर्तनले पारेको असर देखाउन सक्ने ठाउँ हो,’ उनले भनिन्, ‘थामेमा बाढी आयो भन्ने विश्वभर नै थाहा छ । के भयो भनेर हामीले त्यहाँ छलफल गर्नेछौं । त्यसको लागि संघ, यहाँका स्थानीय निकाय र विभिन्न क्षेत्रमा काम गर्नुहुने महिला अगुवाहरू सबैको सहभागिता हुन्छ ।’
यसैगरि जेठ २, ३ र ४ गते काठमाडौंमा पहिलो संस्करणको सगरमाथा संवाद आयोजना हुँदैछ । संवादको पूर्वसन्ध्या कार्यक्रमको रूपमा आरोही सम्मेलन जोडिन पाउनु आफैंमा गर्वको विषय रहेको उनले बताइन् ।
‘संवादमा हिमालकै कुरा उठ्छ । यस सम्मेलनमा पर्वतीय क्षेत्र र समुदायमा के भइरहेको छ भन्ने कुरा संवाद अगाडि नै देख्न पाउनुहुन्छ,’ फाउन्डेसनकी अध्यक्ष कार्कीले भनिन्, ‘यो कुराले सगरमाथा संवादमा ठाउँ पाउँछ । भोलि गएर अन्तर्राष्ट्रियस्तरमा आफ्ना आफ्ना मुद्दा बलियोसँग राख्न सक्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ८ मा संवाद आयोजनाको घोषणा गरेका थिए । ‘सगरमाथा संवाद २०२५’ को मुख्य भाव जलवायु परिवर्तन, हिमालय र मानव भविष्यमा केन्द्रित छ । संवादमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र विज्ञहरूलाई नेपालले निमन्त्रणा गरिसकेको छ ।
