काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण प्रदर्शन गर्न लाग्दा पनि सरकार डराएको टिप्पणी गरेका छन् ।
आज राखिएको प्रदर्शनलाई लिएर शनिबार गृहमन्त्रालयले चेतावनी जारी गरेको थियो । आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा लेख्दै अध्यक्ष लिङ्देनले शान्तिपूर्ण प्रदर्शनलाई लिएर सरकार डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।
भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यहाँसम्म मात्र आउ भन्दै सीमा तोक्ने काम निरंकुशता देखिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’
अध्यक्ष लिङ्देनले सीमित नेताहरुमात्र सहभागी हुने जानकारी दिएका छन् । आफूहरुले जे कुरा गर्ने हो त्यो भनेरै गर्ने भएकाले सरकार डराउनु नपर्ने बताएका छन् ।
उनले अघि भनेका छन्, ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
