उदयपुर र पाल्पामा लडेर दुई जनाको मृत्यु

वैशाख ६, २०८२

माधव अर्याल

Two people died in a fight in Udaipur and Palpa

उदयपुर र पाल्पा — उदयपुर र पाल्पामा लडेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ११:३० मा घर नजिकैको चिउरीको रुखबाट घाँस झार्दै गर्दा चिप्लिएर लडेर उदयपुर त्रियुगा नगरपालिका–१४ पुङमाङका ४८ वर्षीय रामकुमार थापामगरको र शुक्रबार घरबाट पूजामा गएका पाल्पाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मगरलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीचौकी साउनेमा खबर गरेका थिए । मृतक मगरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले बताए ।

यस्तै चिदी चिर्तुङधाराकै बेलटारीस्थित आफन्तको घरमा पूजामा गएको र बेलुकी नफर्केपछि परिवारले प्रहरी चौकी बर्तुङ्मा खोजीका लागि जानकारी गराएका थिए । प्रहरी चौकीबाट खटिएका टोलीसहित स्थानीयले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा घरदेखि तीन सय मिटर पश्चिमतर्फ भीरबाट फोक्सिहर खोलामा खसेर मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल मल्लले जनाए ।

शव पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully