दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ५/६ घण्टा, बुटवल–नारायणगढ सडक खण्ड विस्तार २०७९ साउनमा सक्ने गरी २०७५ चैतमा ठेक्का लागेकामा अहिलेसम्म ६३ प्रतिशत मात्र काम
परासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा बिहीबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल जाममा परे । उनी सडक विस्तारको अनुगमनमा बुटवल हुँदै नारायणगढका लागि हिँडेका थिए । मन्त्री दाहालको एस्कर्टिङलाई पनि दाउन्ने खण्ड छिचोल्न चार घण्टा लाग्यो । सवारी जाम हटाउन कुनै पनि उपाय नभएपछि मन्त्री दाहालले दाउन्नेमा सडक तत्काल मर्मत गर्न ठेकेदार र सडक विभागलाई निर्देशन दिए ।
दाउन्ने खण्डमा आवागमन समस्या बिहीबार मात्र होइन, बुटवल–नारायणगढ सडक विस्तार सुरु भएदेखि नै छ । केही दिनयता भने वर्षाले सडक हिलो भएर सवारी चिप्लिने र ठूला मालवाहक सवारी दाउन्नेको उकालो चढ्न नसक्ने समस्या छ ।
दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ५/६ घण्टा लाग्ने गरेको छ । तर विशिष्ट व्यक्ति, मन्त्री तथा दलका नेतालाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेर दाउन्ने खण्ड पार गराइरहेका छन् । त्यस्तो बेला मालवाहक सवारीलाई भने दुम्किबास र बर्दघाटमै रोक्ने गरिन्छ ।
बिहीबार दिउँसो २ बजे दाउन्नेमा जाममा परेका पत्रकार दीपक भट्टराईले राति ११ बजे बल्ल दुम्किबास पुगेको सुनाए । ‘सडकको अवस्था निकै खराब छ । हिलोले सानाठूला सवारी चल्नै सकेका छैनन् । त्यहीमाथि जथाभावी ओभरटेक गर्ने होडबाजीले जाम झनै बढ्दो रहेछ,’ उनले भने, ‘सामान्य वर्षामा त यस्तो सास्ती छ । वर्षायाम सुरु भएपछि यो सडक खण्डमा कसरी यात्रा गर्न सकिएला र !’ काठमाडौंबाट बर्दघाट आउँदै गरेका प्रतापपुरका अंगद यादव शुक्रबार बिहान ४ बजे दुम्किबास आइपुगेका थिए । चार–पाँच घण्टा जाममा परेपछि हिँडेरै दाउन्ने पार गर्ने तयारीमा रहेको उनले बताए ।
गत साता बिहीबारको सामान्य वर्षाले पनि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको थियो । त्यसयता दिनहुँ जसो पानी परिरहेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले यातायात सञ्चालनमा असहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनक बन्जराले बताए । यात्रुलाई दाउन्ने खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
गाडी चलाएर काठमाडौंबाट बुटवल जाँदै गरेका राजेन्द्र विकले सिमसिमे पानीमा नै बाटो बन्द हुने अवस्थाले वर्षा लागेपछि झन् के हुने होला भन्ने चिन्ता लागेको बताए । ‘सरकारले समयमा नै यसको समाधान गर्नतर्फ नलाग्दा हामी दिनहुँ हिँडडुल गर्नेले सास्ती पाएका छौं,’ उनले भने, ‘पोहोर पनि यही समस्या थियो ।’
बुटवल–नारायणगढ सडक विस्तार सुरु भएपछि दाउन्ने खण्डमा घाम लाग्नासाथ धुलाम्य हुन्छ, सामान्य पानी पर्नासाथ हिलो भएर सवारी चिप्लिने समस्या छ । दाउन्ने खण्डमा सवारी आवागमन चाँडै सहज बनाउन भन्दै केही घण्टा सडक बन्द गरेर २७ चैतमा काम सुरु गरिएको थियो । त्यति बेला ३१ चैतसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र १ वैशाखदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडकमा काम गर्ने भनिएको थियो । तर काम सुरु भएको भोलिपल्ट वर्षाका कारण सडक चिप्लो भएर आवागमन प्रभावित भएको थियो ।
जाम खुलाउन सडक विभागको टोली र सुरक्षाकर्मी परिचालन गरिएका छन् । साना सवारीलाई सुरक्षाकर्मीले धकेलेर पार गराउनुपर्ने अवस्था छ भने ठूला सवारीलाई डोजरले धकेल्नुपरेको छ । वर्षा रोकिएर हिलो हटेपछि मात्र सवारी सहज रूपमा सञ्चालनमा आउन सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले यसपालि बर्खायाममा समस्या नहोस् भनेर अधिकतम प्रयास गरिरहेको बताए । ‘समस्या नदोहोरियोस् भनेर हामीले आवतजावत नै रोकेर मर्मत सुरु गरेका थियौं,’ उनले भने, ‘काम सुरु हुनासाथ पानी पर्यो ।’
दाउन्ने खण्डको समस्याका विषयमा मन्त्री दाहालले शुक्रबार चितवनमा सचिव, बिभागिय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरेका थिए । छलफलमा दाउन्ने खण्डको सडक तत्काल सम्याएर र ग्राभेल थपेर आवागमन सहज बनाउन ठेकेदार सहमत भएको मन्त्री दाहालका स्वकीय सचिव मनोज दाहालले जानकारी दिए ।
विनयी–त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्ने खण्डमा चाहिने ग्राभेल पालिकाले उपलब्ध गराउने आश्वासन दिएका छन् । भरतपुरको ६ लेन सडक उद्घाटनका लागि शुक्रबार चितवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सडक विस्तारको अवस्था हेर्न नारायणीपारि गैंडाकोट छिरेका थिए । उनी सडकमा पहिले ढिला भए पनि अहिले काम भइरहेको प्रतिक्रिया दिएर फर्किए ।
गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमि विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपर्थ्यो । तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ११ साउन ०८० सम्म म्याद थपिएको थियो ।
त्यसपछि पनि दुई पटक म्याद थपेर ८ साउन ०८२ सम्म पुर्याइएको छ । तर म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा प्रगति ६३ प्रतिशत मात्र छ । निर्माण सकिएपछि पनि ५ वर्षसम्म ठेक्का लिने व्यवसायीले नै सडकको मर्मत सम्भार गर्नुपर्ने सम्झौता छ ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकाल सुरुका दिनमा निर्माण सामग्री अभाव, रूख कटान, विद्युत्का पोल सार्न ढिलाइ जस्ता कारणले काममा ढिला भएको बताउँछन् । ‘पछि व्यवसायीले लो ‘बिड’ मा ठेक्का लिँदा घाटा हुने भयो भन्दै काममा ढिला गरे,’ उनी भन्छन्, ‘पटक–पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि मन्त्रालय तहबाटै निर्माण व्यवसायीको मुख्य कार्यालयमै ध्यानाकर्षण गराइएको थियो । त्यसपछि कामले गति लिएको छ ।’
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा २६ पुसमा पुल भासिएपछि डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । जसका कारण केही घुमाउरो बाटो प्रयोग गर्नुपर्दा यात्रा थप लम्बिएको छ । बर्खायाम सुरु हुनुअघि नै यहाँ पुल निर्माण नभए सडक खण्डको यात्रा नै प्रभावित हुने भएकाले निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
२ सय ५० मिटर लामो पुलको ढलान सकिएको छ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत दाउन्नेदेखि गैंडाकोटसम्ममा ३४ पुल निर्माण गर्नुपर्नेमा २९ वटा तयार भएको सडक विस्तार आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए ।
