सिन्धुपाल्चोक — परराष्ट्रमन्त्री आरजु राणाले सीमानाका र सडकका लागि आवश्यक पहल गर्ने बताएकी छिन् । शुक्रबार भोटेकोसी गाउँपालिका-२ बाट चीन जोड्ने सीमानाका तातोपानी पुगेकी उनले तातोपानी धारामा निर्मित स्नानगृह भवन उद्घाटन गर्दै यस्तो बताएकी हुन् ।
'यसअघि नाका हेर्ने मौका पाएको थिइनँ, ५४ वर्षअघि यहाँ एकपटक आएको थिएँ, तर सडकको अवस्था देखेँ, यसबारे भौतिकमन्त्रीसँग कुरा गरेर अघि बढ्नेछु,' उनले भनिन् ।
यसअघि चिनियाँ कम्पनी सीआरसीसीले पुनर्निर्माण र स्तरोन्नति गरेको भए पनि सडकको अवस्था जीर्ण बन्दा यहाँका स्थानीय आजित छन् । उनीहरुले मन्त्रीसँग गुनासो गरेपछि सडकको विषयमा भौतिकमन्त्री र सम्बन्धित पक्षलाई दबाब दिएर अघि बढ्ने मन्त्री राणाले आश्वासन दिइन् ।
चीनबाट आएका झाङ्मु क्षेत्रका सुरक्षाकर्मी र अधिकारी प्रतिनिधिले उनीसहित अन्यलाई स्वागत गरेका थिए । परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमार्फत तातोपानी उत्रेकी थिइन् । लगत्तै उनले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण गरिन् ।
भोटेकोशी-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोसी गाउँपालिकाले आफ्नै लगानीमा स्नानगृह तयार पारेको हो । ६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको उनको भनाइ छ । बगैँचा, स्विमिङ पुल र अन्य संरचना बन्न बाँकी रहेको उनले जानकारी दिए ।
तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन् । हाल नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ । कात्तिकदेखि चैतसम्म सिजनमा दैनिक एक हजारसम्म पर्यटकले तातोपानी धारामा स्नान गरेर सीमानाकाको भ्रमण गर्ने गर्छन् । अफसिजनमा पनि दैनिक सय पर्यटक तातोपानी पुग्छन् । तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुनेछ ।
प्राकृतिक रुपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन् । तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमार सञ्चो हुने विश्वास गरिन्छ । यहाँ चीन र भारतका पर्यटक आउँछन् ।
