बलात्कृत बालिकाले छोरी जन्माइन्, ओरोपित अझै फरार

अभिभावक भन्छन्– ‘छोरीको भविष्य बर्बाद हुनुभन्दा गर्भपतन गरिदिनुस् भनेर हारगुहार गर्‍यौं तर कानुनले नमिल्ने रहेछ, अब राज्यले नै व्यवस्थापन गरिदेओस्’

वैशाख ४, २०८२

मेनुका ढुंगाना

The raped girl gave birth to a daughter, the accused is still absconding

अछाम — मामा पर्नेबाट बलात्कृत भएकी अछाम, चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी छन् । बलात्कारका आरोपित भने प्रहरीमा जाहेरी दिएको दुई महिना बित्दा पनि पक्राउ परेका छैनन् । अभिभावकले छोरीको पेट ठूलो देखेपछि कुनै रोग लागेको शंकामा गत २ फागुनमा बयालपाटा अस्पतालमा जचाउँदा गर्भवती भएको पत्ता लागेको थियो ।

अभिभावकलाई बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ सातामाथिको गर्भपतन गराउन नसक्ने बताएपछि बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी सुरक्षित आवास गृहमा राखिएको थियो । ती बालिकाले २९ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा छोरी जन्माएकी हुन् ।

बालिकाका बुबाले अछामबाट धनगढी झरेर अस्पतालमा प्रसूति गराउने कागजातमा संरक्षकका रूपमा हस्ताक्षर गरेका थिए । उनी घर फर्किसकेका छन् । बालिकाकी आमा पनि गर्भवती थिइन् । उनले १५ फागुनमा मृत बच्चा जन्माइन् । ‘श्रीमतीले मृत बच्चा जन्माउनुको पीडा छ, अर्कातिर नाबालिक छोरीको अवस्था त्यस्तो छ । छोरीको चिन्ताले आमाको पनि ज्यान खतरामा छ,’ बालिकाका बुबाले भने । 

सुत्केरी छोरीलाई बच्चासहित घरमा ल्याउन सक्ने अवस्था नरहेको पनि उनले बताए । ‘गाउँ, समाजका अगाडि कसरी छोरीलाई ल्याउने ?’ उनले भने, ‘छोरीको भविष्य बर्बाद हुनुभन्दा जुन दिन थाहा भयो त्यसै दिन गर्भपतन गरिदिनुस् भनेर हारगुहार गरेको थिएँ । कानुनले नमिल्ने रहेछ । अब राज्यले नै व्यवस्थापन गरिदेओस् ।’

सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. खगेन्द्र भट्टका अनुसार नवजात शिशुलाई ६ दिनसम्म एनआईसीयू (नवजात शिशुको सघन उपचार कक्ष) मा राखेर बुधबार निकालिएको छ । ती बालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पतालमा नै राखिएको उनले बताए । ‘बालिकाको स्वास्थ्य अवस्था ख्याल गर्दै हामीले नर्मल डेलिभरी गरायौं । बालिकाको पुनःस्थापनालगायतका विषयमा अब सरोकारवालाले ध्यान दिनुपर्छ,’ उनले भने । 

अपरिपक्व उमेरमा बच्चा जन्माउनेमा विभिन्न खालका स्वास्थ्य समस्या देखिने र भविष्यमा पाठेघरको मुखको क्यान्सरको समेत जोखिम रहने पनि डा. भट्टले बताए । ‘अहिलेको अवस्थामा बालिका कुपोषित भएको जस्तो देखिन्छ । यसरी हिंसामा परेकाहरूको 

मानसिक स्वास्थ्य पनि ठिक हुँदैन । जीवनभर स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ,’ उनले भने । यसभन्दा अगाडि अस्पताल र ओसीएमसीले बालिकालाई संरक्षण गरेको र अब राज्यका निकायले जिम्मेवारी लिनुपर्ने उनको उनको भनाइ छ । 

भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको र घरमा सुनाए मार्ने धम्कीसमेत दिएको जानकारी ती बालिकाले प्रहरी र परिवारलाई दिएकी थिइन् । बालिका सुरतमा मजदुरी गरिरहेका बाबु–आमासँग बस्थिन् । बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । आरोपित भारतमा भएकाले पक्राउ पर्न नसकेको प्रहरीको भनाइ छ । 

ती बालिकाकी आमाका अनुसार अछाममा जाहेरी दिएको भोलिपल्ट ती आरोपित पुरुषलाई आफन्तले नियन्त्रणमा लिएर भारतको सुरत सहरस्थित आदजान प्रहरी कार्यालयमा बुझाएका थिए । प्रहरीमा बुझाएको २४ घण्टासम्म कुनै जाहेरी नआएपछि भारतीय प्रहरीले थुनामुक्त गरेको थियो । आफूहरू आर्थिक रूपमा कमजोर भएकै कारण भारतमा पक्राउ परिसकेको मान्छे भागेको पीडित बालिकाकी आमा बताउँछिन् ।

उजुरी दिएको दुई महिना बितिसक्दा पनि आरोपित पक्राउ नपरेकाले न्याय पाउने आस मर्दै गएको उनको भनाइ छ । ‘छोरीको भविष्य बर्बाद भयो । परिवारको खुसी लुटियो । इन्डिया गएर कमाइ गर्नलाई पनि अब हामीलाई सजिलो छैन । पक्राउ नपरे त्यसले हामीलाई सिध्याइदिन्छ,’ उनले भने । 

अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले आरोपित पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘नेपाल प्रहरीले आफैं भारतमा गएर पक्राउ गर्न मिल्दैन । सक्ने प्रयास सबै गरिरहेका छौं,’ उनले भने ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully