दलित किशोरीको शंकास्पद मृत्यु

वैशाख ४, २०८२

अवधेशकुमार झा, विद्यानन्द राम

Suspicious death of Dalit girl

हरिपुर, सप्तरी — फेरि यौनहिंसामा पर्न सक्ने त्रासले तीन वर्षअघि विद्यालय जान छाडेकी एक दलित किशोरी मृत भेटिएकी छन् । सप्तरीको सुरुंगा–७ हरिपुर रामटोलकी १८ वर्षीया पूजाकुमारी राम घरदेखि एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछियाँ भन्ने ठाउँमा मंगलबार मृत भेटिएकी हुन् । 

घरबाट राति बेपत्ता भएकी पूजाको शव बिहान भेटिएको थियो । पूजाको हत्या भएको भन्दै आमा रामवतीदेवीले बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी छन् ।

घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानमा किशोरीको हत्या भएको आशंका छ, पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले भने ।

१४ मंसिर २०७८ मा विद्यालयबाट घर फर्किरहेकी पूजालाई स्थानीय ठाकुर थरका किशोरले सडकबाटै घिसारी आँपको बगैंचामा लगेर बलात्कार गर्न खोजेका थिए । पूजा कराएर भाग्न सफल भएकी थिइन् । प्रहरीले २० मंसिरमा ती किशोरलाई नियन्त्रणमा लिएको थियो ।

किशोरविरुद्ध जबर्जस्ती करणी उद्योगमा सप्तरी जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । थुनछेक बहसमा अदालतले अभियुक्त नाबालक भएका कारण पछि ठहरेबमोजिम हुने भन्दै तत्कालका लागि आवश्यक परेको बेला उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाउने आदेश दिएको थियो । 

पछि मुद्दाको फैसला गर्दै अदालतले प्रतिवादीको उमेर १६ वर्ष मात्रै भएका कारण बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ (४) बमोजिम ठहर भएको सजायको दुई तिहाइले हुने ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकेको थियो । क्षतिपूर्तिबापत २० हजार रुपैयाँ पीडितलाई उपलब्ध गराउन पनि अदालतले आदेश दिएको थियो ।

अदालतको फैसलापछि भने अभियुक्त फरार भएका थिए । किशोर फरार भएका कारण फेरि यौनहिंसामा पर्न सक्ने त्रासले पूजा विद्यालय जान छाडेकी थिइन् । त्यति बेला पूजा मसिलाल जनता (प्राविधिक) विद्यालय कुशहामा कक्षा १० मा अध्ययनरत थिइन् । पूजाको शंकास्पद मृत्युपछि प्रहरीले जबर्जस्ती करणी उद्योगमा दोषी ठहर भएका किशोरलाई मंगलबार गाउँबाटै पक्राउ गरेको छ । ‘तत्कालीन अवस्थामा सजाय तोकिएका र पछिल्लो घटनामा पनि शंकास्पद रहेका किशोरलाई गाउँबाट नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक खतिवडाले भने ।

अवधेशकुमार

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully