ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी एआईजीमा सिफारिस
काठमाडौँ — सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिस गरेको छ ।गृह मन्त्रालयका सचिव गोकर्णकमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले रिक्त ६ एआईजीमा नायव महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा र बाँकी तीनजना कार्की, अधिकारी र केसी ०५४ मा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिस भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् । उनीहरुमध्ये खापुङ र आचार्य एक लट र त्यसपछिका ४ जना दोस्रो लटमा गत वर्ष डीआईजीमा बढुवा भएका थिए ।
प्रहरी महानिरीक्षक बसन्त कुँवर अवकाशमा गएपछि एआईजी दीपक थापा महानिरीक्षकमा बढुवा भएका थिए । कुँवरसहित सँगै सेवा प्रवेश गरेका अधिकृतहरु पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि प्रहरीमा ६ एआईजी पद रिक्त थियो ।
सोही रिक्त पदमा बढुवा समितिले ६ जना डीआईजीहरुलाई बढुवा सिफारिस गरेको हो । एआईजी प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभागबाट ०५३ सालमा सेवा प्रवेश गरेपछि प्रहरी सेवामा स्थानान्तरण भई आएका अधिकृतहरु पनि थिए ।
पछिल्लो पटक गत मंसिरमा डीआईजी भएकाहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक पनि एआईजी प्रतिस्पर्धामा थिए । तर, सरकारले ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका डीआईजीहरुलाई नै बढुवा सिफारिस गरेको हो ।
