काठमाडौँ — बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव नभएको सभामुख घिमिरेको भनाइ, गभर्नर नियुक्ति छिट्टै हुने सञ्चारमन्त्री गुरुङको धारणादेखि हङकङ यू-१९ माथि नेपालको सानदार जितसम्मका खबर आज चर्चामा रहे ।
०००
सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । मंगलबारमात्र मन्त्रिपरिषद् बैठकले आगामी अधिवेशनमा शिक्षकका माग सम्बोधन गर्ने निर्णय गरेको थियो । यसैबीच सभामुख घिमिरेले बुधबार झापामा न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा बजेट अधिवेशनमा बजेटसम्बन्धी विषय नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन् ।
०००
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको जिकिर गरे ।
०००
नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको छ। युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो। नेपालले तल्लो मूलपानी क्रिकेट मैदानमा १२.३ ओभरमा १ सय १८ रन बनाउँदै विजय हात पारेको हो ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका लिन जियानले अमेरिका वार्तामार्फत समस्या समाधानका लागि गम्भिर नभएको दाबी गरेका छन् ।
प्रख्यात पप गायिका केटी पेरीसहित ६ जना महिला अन्तरिक्षको भ्रमण सकेर पृथ्वीमा फर्किएका छन् । अर्बपति जेफ बेजसको कम्पनी ब्लु अरिजिनले बनाएको न्यु सेफर्ड रकेटमार्फत उनीहरू पर्यटकका रूपमा अन्तरिक्षमा गएका थिए । अन्तरिक्ष भ्रमणमा निस्किनेमध्ये पेरीसहित बेजसकी हुनेवाला श्रीमती लरेन सान्चेज, टेलिभिजन प्रस्तोता गेल किङ, नासाकी पूर्वकर्मचारी आयसा बोवी, नागरिक अधिकारकर्मी अमान्डा नुयेन र फिल्म निर्माता किरियान फ्लिन थिए ।
