बाढीपहिरोबाट पूर्ण क्षति भएका निजी आवास एक वर्षभित्र पुनर्निर्माण गर्छौं : गृहमन्त्री लेखक

वैशाख ३, २०८२

ज्योती श्रेष्ठ

We will rebuild private residences that have been completely damaged by floods within one year: Home Minister Writer

काभ्रे — गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पूर्ण क्षति भएका निजी आवास एक वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । बुधाबर काभ्रेको रोशी गाउँपालिका-२ स्थित नारायणटारमा बाढीपहिरोले पुर्‍याएको क्षतिको आकलन गर्दै उनले बाढीपहिरोबाट पूर्ण क्षति भएका निजी आवास एक वर्षभित्र पुनःनिर्माण गरिने बताएका हुन् । 

गत असोज दोस्रो सातामा आएको विनाशकारी बाढी र पहिरोबाट क्षति भएका ७१ स्थानीय तहमध्ये रोशी-२ स्थित नारायणटारबाट विस्तृत क्षति आकलन सुरु गरिएको छ । गृहमन्त्री लेखकले बुधबार रोशीको नारायणटारबाट क्षतिको निरीक्षण गरेका हुन् । विपदको करिब सात महिनापछि सरकारले स्थानीय तहसँग मिलेर विस्तृत क्षति मूल्यांकन थालेको हो ।  

सो अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नीति, कानुन र कार्यविधिमा रहेको जटिलताका कारण पुनःनिर्माणमा ढिलाइ भएको स्पष्ट पार्दै उनले भने, ‘अब सरकारले पुनःनिर्माण तीव्र बनाउने प्रतिबद्धता गरेको छ ।’ उनका अनुसार, अस्थायी आवास निर्माणका लागि हालसम्म ७ करोड ३५ लाख रुपैयाँ वितरण भइसकेको छ । 

पीडितहरूलाई अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ र स्थायी आवास निर्माणका लागि चार लाख रुपैयाँ उपलब्ध गराइने उनले बताए । विस्तृत क्षति मूल्यांकन सकिएलगत्तै अस्थायी र स्थायी दुवै प्रकारका आवास निर्माण कार्य सुरु गरिने गृहमन्त्रीको भनाइ थियो । त्यस्तै, बर्खामासमेत सञ्चालन हुने गरी बीपी राजमार्ग पुनःनिर्माण कार्य अघि बढिसकेको उनले जनाए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टले विस्तृत क्षति आकलन सकिएपछि स्थायी आवास निर्माण कार्य सुरु गरिने स्पष्ट पारे । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले वर्षातको समयमा बाढीपहिरो पीडितहरू थप जोखिममा पर्न सक्ने भएकाले पुनःनिर्माण कार्य यथाशक्य छिटो थाल्नुपर्ने बताए ।  साथै, बस्ती जोगाउन तटबन्ध निर्माण खाँचो रहेको उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बाढीपहिरोबाट क्षति भएका निजी आवास तथा सार्वजनिक पूर्वाधार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताए । बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले सबै राजनीतिक दल र सरोकारवाला निकाय मिलेर पूर्वाधार निर्माणमा जुट्नुपर्ने धारणा राखेका थिए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले निजी आवाससहित सार्वजनिक पूर्वाधार पुनःनिर्माण कसरी सुरु गर्ने भन्ने चुनौती रहेको उल्लेख गरे । पहिरो र बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएको भन्दै उनले खाद्य संकटको सम्भावना रहेको र तीनै तहका सरकारले समन्वय गरी काम गर्नुपर्नेमा उनले जोड दिए । गत असोजमा आएको बाढीपहिरोबाट रोशी गाउँपालिकामा ५३६ घरधुरी पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै रोशीमा बाढीपहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो । असोजको दोस्रोमा आएको बाढी पहिरोमा परेर काभ्रेका १३ वटा स्थनीय तहका ७९ जनाको मृत्यु भएको थियो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully