काठमाडौँ — गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको प्रस्ट पारेका छन् । बुधबार राति बसेको सत्ता साझेदार दलको बैठकपछि बाहिरिने क्रममा उनले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताएका हुन् ।
सरकारका बारेमा केही नेताहरूले बोलेको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ थियो । उनले दुई शीर्ष नेतासहित कार्यदल र संयन्त्रको नियमित बैठक बसेको बसेको स्पष्ट पारे ।
सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको उनले बताए । यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुंगो लगाउने गरी केन्द्रित हुने उनले स्पष्ट पारे ।
सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै विरोध गर्दै आएका बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । आजको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
आजको बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
