काठमाडौँ — सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ सुरु भएको संयन्त्रको बैठकमा सरकार सञ्चालनका विषयमा दुई दलबीच देखिएका शंका छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।
सत्तारुढ कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् । बैठकमा संयन्त्रका सदस्य कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् । उनी पछिल्लो समय सरकार सञ्चालनलाई लिएर सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
संयन्त्रको बैठकमा एउटा कुरा गर्ने तर मन्त्रिपरिषद् बैठकबाट अर्कै निर्णय गरिएको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीको सार्वजनिक रुपमै आलोचना गरेका थिए । आफूहरु राम्रा कामका लागि सरकारलाई सघाउन सक्रिय भएको तर प्रधानमन्त्रीले त्यस अनुसार काम नगरेको भन्दै उनले आपत्ति जनाएका थिए ।
कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् । एमाले सचिवालयको पछिल्लो बैठकले कांग्रेससँग देखिएको आशंकाबारे संयन्त्रमै छलफल गर्नुपर्ने निर्णय गर्दै पार्टीअध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको थियो ।
