काठमाडौँ — ‘सगरमाथा संवाद २०२५’ हुन २९ बाँकी छ । २०८२ जेठ २, ३ र ४ मा काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि सरकार तीव्र तयारीका साथ लागेको जनाइएको छ ।
वैशाख ३ मा परराष्ट्र मन्त्रालयमा बसेको व्यवस्थापन समितिको बैठकले संवाद सफलतापूर्वक सम्पन्न गर्नका लागि १८ वटा निर्णयहरू गरेको छ । समितिले संवादसम्बन्धी अद्यावधिक गरिएको कार्यकमलाई अन्तिम रुप दिने र आमन्त्रित पाहुनालाई जानकारी गराउने निर्णय गरेको छ ।
व्यवस्थापकीय समितिकी अध्यक्ष एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाले संवाद आयोजना गर्न सानोभन्दा सानो कुरामा ध्यान दिन निर्देशन दिएकी छन् । साथै समितिका उपाध्यक्ष ऐनबहादुर शाही ठकुरीले संवादलाई सफलतापूर्वक आयोजना गर्न मन्त्रालयले सहयोग गर्ने बताए ।
अहिलेसम्म भएको प्रगति जानकारी गराउन र संवाद आयोजनाका लागि थप आवश्यक पर्ने निर्णय गर्न व्यवस्थापन समितिको बैठक राखिएको वन मन्त्रालयका सचिव दीपककुमार खरालले बताए ।
समितिले संवाद आयोजना गर्न आवश्यक पर्ने बजेट व्यवस्थापन तथा निकासा गर्ने, संवादमा बोल्ने वक्ताको भूमिका सम्पादन गर्ने, संवादमा सहभागी हुने पाहुनाको स्वागत तथा सत्कार गर्न आवश्यकताअनुसार टोली परिचालन गरी यसको व्यवस्थापन गर्ने र विदेशी तथा गैरसरकारी संस्थाको सहयोगलाई अनुमति दिएको छ ।
सगरमाथा संवाद कार्यक्रममा परिचालन गरिन कम्तीमा ५० जना स्वयम्सेवक परिचालन गरिने र संवादको प्रचारप्रसार काममा सहयोग गर्न परराष्ट्र मन्त्रालयले दुई जना प्राविधिक जनशक्तिको सेवा खरिद गरी प्रचारप्रसार मिडिया समन्वय समितिमा खटाउने निर्णय समितिले गरेको छ । साथै संवादको व्यापक प्रचारप्रसारका लागि सरकारी तथा निजी सञ्चारमाध्यमलाई अनुरोध गर्ने, संवादमा सहभागीको सुरक्षा व्यवस्थापनका लागि समन्वय गर्ने, संवाद आयोजना गर्दा आवश्यक निर्णय सगरमाथा संवाद सचिवालयले गर्ने र सोको जानकारी भने व्यवस्थापन समितिलाई गराउने निर्णय गरेको छ ।
