राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदाबीसहित मुद्दा दायर

वैशाख २, २०८२

घनश्याम गौतम

Revenue Investigation Office Butwal filed a case against the hardware business with a demand of 1 crore

बुटवल — राजस्व अनुसन्धान विभागले भैरहवाका एक हार्डवेयर व्यवसायीमाथि १ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानपछि मंगलबार विभागले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरिविरुद्ध राजस्व चुहावटमा बिगो र जरिवाना गरी १ करोड ८ लाख ८२ हजार ९ रुपियाँ माग दाबीसहित मुद्दा दायर गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए ।

अग्रहरिले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ लुम्बिनी गेट नजिकै सुन्दर हार्डवेयर एण्ड प्लाइउड सञ्चालन गर्दै आएका छन् । राजस्व अनुसन्धान कार्यालयले उक्त कारोबार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको ठहर गरेको थियो ।

अग्रहरिले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (छ) र (झ) बमोजिमको राजस्व चुहावटको कसुर गरेको ठहर गर्दै कार्यालयले निजउपर राजस्व चुहावट ऐन २०५२ को दफा २ (छ) बमोजिम ५४ लाख ४१ हजार ४ रुपियाँ बिगो कायम गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले सो रकम बराबरको बिगो कायम गरी उक्त ऐनको दफा २३ (१) बमोजिम बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवानासमेत मागदाबी गरेको छ ।

व्यवसायी अग्रहरिमाथिको अनुसन्धान सकेर अदालतमा मुद्दा दाय गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।Revenue Investigation Office Butwal filed a case against the hardware business with a demand of 1 crore

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully