ट्रकमा फेला परेको २५ करोड विदेशी मुद्रा प्रकरणमा दुईविरुद्ध अभियोगपत्र दायर

वैशाख २, २०८२

विवेक पोख्रेल

Charge sheet filed against two in case of 25 million foreign currency found in truck

काठमाडौँ — काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा दुई जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । राजस्व अनुसन्धान विभागले ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नारायण पौडेललाई मुख्य अभियुक्त बनाई अभियोगपत्र दायर गरेको हो ।

मंगलबार जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

युरो र डलर बरामद भएलगत्तै पौडेल भने सम्पर्कविहीन छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । 

ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully