काठमाडौँ — नयाँ वर्ष २०८२ को पहिलो दिन सुदूरपश्चिम प्रदेशका साथै काठमाडौंमा पनि बिसु पर्व मनाइएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गर्नेहरूले देउडा समाजद्वारा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा बिसु पर्व मनाएका हुन् । देउडा समाजले बिसु पर्वको अवसरमा देउडा खेल तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा वैशाख १ गते मनाइने बिसु पर्वले आपसी भेटघाट र भावना तथा विचार आदानप्रदान गर्ने अवसर जुटाएको बताउँदै भाषा, संस्कृति जोगाउनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । सुदूरपश्चिमको भाषा हराउँदै गएकोमा भने देउवाले चिन्ता व्यक्त गरेका छन् ।
सुदूरपश्चिमका भाषा जोगाउनका लागि देउडा लगायतका सांस्कृतिक र सामाजिक कार्यक्रममार्फत पहल लिनुपर्ने उनको भनाइ थियो । भाषा जीवित राख्न सकेमा सुदूरपश्चिमको पहिचान पनि कायम राख्न सकिने उनले बताए । ‘हाम्रो भाषा हामीले जीवित राख्न सकेको खण्डमा सुदूरपश्चिमको पहिचान हुन्छ,’ उनले भने ।
कांग्रेस सांसद तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिमको संस्कृति प्रवर्द्धन गर्नका लागि बिसु पर्वलगायतका पर्वलाई काठमाडौंमा पनि कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।
देउडा समाजका अध्यक्ष नन्दकृष्ण जोशीले देउडा सुदूरपश्चिमको संस्कृति भएको बताए । उनले सुदूरपश्चिम र कर्णालीको विविध कला प्रवर्द्धन गर्न बाँकी रहेको बताएका थिए ।
कार्यक्रममा साहित्यकार महेशविक्रम शाह र इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेललाई अभिनन्दन गरिएको थियो ।
