काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले मुलुकभर ८१ वटा ठूला आयोजना अगाडि बढिरहेको बताएका छन् । पानीको स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन र सबै नागरिकका लागि सहज सरसफाइ सेवा सुनिश्चित गर्दै खानेपानी मन्त्रालय अगाडि बढिरहेको उनले जानकारी दिए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको २०८१/८२ को प्रगति र कार्ययोजना, आगामी आर्थिक वर्षको योजना तर्जुमा र विभागको नवस्वीकृत संगठनात्मक संरचनाअनुरूप भावी रणनीतिमाथि मंगलबार भएको छलफल तथा अन्तरक्रियामा मन्त्री यादवले उक्त जानकारी दिएका हुन् । 'आजको दिनसम्म मुलुकभर १२ ठूला आयोजना सम्पन्न भई २० लाखभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा सुरक्षित खानेपानी सेवाबाट लाभान्वित भएका छन्,' मन्त्री यादवले भने, 'चालु आर्थिक वर्षभित्र ११ अर्बभन्दा बढीको बहुवर्षीय स्रोत सहमति प्राप्त भई ८१ नयाँ आयोजना ठेक्का प्रक्रियाअन्तर्गत अघि बढिरहेका छन्, जुन हाम्रो प्रतिबद्धताको मूर्तरूप हो ।'
मन्त्री यादवले सात वर्षदेखि रोकिएको नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्त विनियमावली कार्यान्वयनमा आएको पनि जानकारी दिए । नियमावली कार्यान्वयनमा ल्याउने कार्य नीतिगत उपलब्धिसँगै कर्मचारी वर्गको मनोबल अभिवृद्धिका लागि महत्वपूर्ण कदम भएको बताए ।
देशका गरिब, विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई नि:शुल्क खानेपानीको पहुँच सुनिश्चित गर्ने दिशामा सरकारले ठोस र दूरदर्शी पहल गरेको पनि मन्त्री यादवले बताए । मेलम्ची खानेपानी आयोजना अन्तर्गत पानीलाई नियमित रूपमा घर–घरमा पुर्याउने प्राविधिक पूर्वाधार स्थापित भइसकेको पनि उनको भनाइ थियो ।
दीर्घकालीन खानेपानीका लागि अन्तर्राष्ट्रिय सहकार्यको दिशामा पनि उल्लेखनीय प्रगति भएको र दिगो पानी स्रोतको संरक्षण, स्वच्छ ढल व्यवस्थापन र सर्वसुलभ सरसफाइ सेवा सुनिश्चित गर्दै नयाँ युगको आधारशिला निर्माण भइरहेको पनि उनले बताए । 'भारत सरकारसँगको समझदारी, इसिमोड, जाइका, तथा एसियाली विकास बैंक (एडीबी) सँगको सशक्त साझेदारीमार्फत हामीले नेपालको पानीलाई विश्वचिन्तनको केन्द्रबिन्दुमा ल्याउन सफल भएका छौँ,' उनले भने ।
