नेपालमा राजतन्त्र अब इतिहास भइसक्यो, भविष्य होइन
काभ्रे — प्रतिनिधि सभा सदस्य एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर १८ वर्ष अगाडि नै क्लोज भइसकेको बताएका छन् । सोमबार, काभ्रेको बनेपामा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसर शुभकामना आदनप्रदान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बास्कोटाले उक्त कुरा बताएका हुन् ।
शुभकामना दिँदै उनले भने, ‘नेपालमा राजतन्त्र अब इतिहास भइसक्यो, भविष्य होइन ।’ उनले नेपालमा राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्ष अगाडि क्लोज भइसकेको बताए । अब इतिहासको पाना पछाडि नफर्कने समेत उनले बताए ।
‘नेपाल लोकतन्त्रको मार्गमा राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरुलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढतापूर्वक लागिरहेछ,’ उनले भने, ‘लोकतन्त्रमा आफ्ना विचारहरु राख्ने कुरा सबैका छन् र पूर्वराजाले पनि एउटा नागरिकको रुपमा कुनै विचार राखेका छन् भन्ने त्यसप्रति हाम्रो आपत्ति छैन ।’
समाजलाई विस्थापित गर्ने जनताका अधिकारहरु खोस्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ बगाउन खोज्ने प्रयत्नलाई नेपाली जनताले, लोकतन्त्रप्रेमी जनताले, गणतान्त्रिक नेपालका सबै जनताले कहिल्यै माफी नदिने उनले बताए । नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसाथ गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
