काठमाडौँ — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । भाषा र संस्कृति जोगाउन सबैले पहलकदमी लिन उनले आग्रह गरे ।
नयाँ वर्षको अवसरमा देउडा समाजले सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सुदूरपश्चिमका नयाँ पुस्ताले नेपाली र अंग्रेजी मात्रै बोल्न लाग्दा भाषा लोप हुने चिन्ता रहेको बताएका हुन् । 'सुदूरपश्चिमको भाषा करिब-करिब हराउँदै छ । कोही बोल्दैनन्, आफ्नो पश्चिमको भाषा । सबै नेपाली बोल्छन्, हुँदाहुँदा सरासर अंग्रेजी बोल्छन्, यस्तो खालको भइसक्यो,' देउवाले भने, 'यसकारण पनि भाषा हराइरहेको छ । भाषा भनेको ठूलो कुरा हो । जुन देशको, समाजको भाषा हराउँछ, त्यो समाज नै कमजोर हुन्छ, विखण्डित हुन्छ भन्ने भनाइ छ । त्यसकारण संसारभर नै आफ्नो भाषा बचाउन काम गरिरहेका छन् ।'
सभापति देउवाले सुदूरपश्चिमका भाषा जोगाउन देउडा लगायतका सांस्कृतिक र सामाजिक कार्यक्रममार्फत पहल लिनुपर्ने बताए । भाषा जीवित राख्न सकेमा सुदूरपश्चिमको पहिचान पनि कायम राख्न सकिने उनको धारणा थियो । 'हाम्रो भाषा हामीले जीवित राख्न सकेको खण्डमा सुदूरपश्चिमको पहिचान हुन्छ,' उनले भने ।
सभापति देउवाले सुदूरपश्चिमको पहिरन पनि लोप हुँदै गएको बताए । समाजमा नयाँ फेसनअनुसारको पहिरन आएकाले सांस्कृतिक पहिरन लोप हुन लागेको उनको भनाइ थियो । उनले कसैलाई यस्तै मात्र कपडा लगाउनुपर्छ भनेर दबाब दिन भने नमिल्ने बताए ।
सुदूरपश्चिममा वैशाख १ गते मनाइने बिसु पर्वले एकअर्कासँग भेट्ने र कुराकानी आदानप्रदान गर्ने अवसर जुटाएको बताउँदै देउवाले सुदूरपश्चिमको भाषा, संस्कृति जोगाउनका लागि सबै पक्षलाई आग्रह गरेका थिए ।
