‘गुराँसको राजधानी’ मै फुलेन गुराँस

तीनजुरे–मिल्के–जलजले क्षेत्रका जंगलको उराठलाग्दो रूप देखेर स्थानीय चिन्तित

चैत्र ३१, २०८१

पर्वत पोर्तेल

Gurans flourished in the 'capital of Gurans'

तेह्रथुम — कोशी प्रदेश सरकारले गत बुधबार तीनजुरे–मिल्के–जलजले क्षेत्रबाट ‘पर्यटन वर्ष’ उद्घाटन गरिरहेका बेला स्थानीय भने जंगलको उराठलाग्दो रूप देखेर चिन्तित थिए । यस सिजनमा गुराँसले ढकमक्क हुने यो डाँडो यसपालि खङ्ग्रङ्ग थियो ।

कार्यक्रमस्थलमा भेटिएका स्थानीय ७२ वर्षीय ज्ञानबहादुर कार्कीको आँखामा निराशा झल्किएको प्रस्टै देखिन्थ्यो ।

‘वर्षौंदेखि राताम्य गुराँस देखेको यो पाखो यसपटक खङ्ग्रङ्ग देखेर मलाई त धेरै चिन्ता लागेको छ,’ उनले भने, ‘चिन्ता लिनेहरूले नलिने रैछन्, म बबुरोले तालुमा हात लाएर के गर्नु ?’

कार्कीले यसअघि यो जंगललाई कहिल्यै यति उराठलाग्दो नदेखेको उल्लेख गर्दै भने, ‘गुराँस सधैं फुल्थ्यो, मनै लोभ्याउँथ्यो, अहिले किन यस्तो भइरहेको छ थाहा छैन ।’ पानी अभावले यो समस्या आएको हुन सक्ने उनले लख काटे ।

यस्तो अनुमान अर्का वृद्ध वेगबहादुर गजमेरको अनुभवसँग मेल खान्छ । ‘गत असोजयता पानीको एक थोपा पनि परेको छैन,’ गजमेरले सुनाए, ‘पहिला समयमा पानी पर्थ्यो अनि समयमै गुराँसले जंगल ढाक्थ्यो ।’

उनले यो वर्ष न हिउँ परेको, न त हिउँदको चिसो अनुभव भएको सुनाए । ‘यसपटक न जाडो भो, न पानी पर्‍यो, न त गुराँस नै फुल्यो,’ गजमेरले निराश हुँदै भने, ‘किन यस्तो भइरहेको छ, कसले चिन्ता लिने हो गुराँसको ?’

स्थानीय वृद्धको अनुभूति र अनुभवले स्पष्ट संकेत गर्छ, जलवायु परिवर्तन र मौसम अनियमितताले तीनजुरे–मिल्के–जलजलेको जैविक विविधता र पर्यटकीय सौन्दर्यमा प्रत्यक्ष असर पार्न थालेको छ ।

Gurans flourished in the 'capital of Gurans'

यो क्षेत्रका जंगल यस वर्ष गुराँसविहीन हुँदा धेरैलाई चिन्तित बनाएको छ । मौसमको कारणले मात्रै होइन, यो समस्याको जडमा मानवजन्य लापरबाही पनि रहेको वनस्पतिविद् कमल मादेन दाबी गर्छन् ।

‘गुराँस नफुल्नुमा पानी नपर्नुजस्ता प्राकृतिक कारण त छन् नै, तर पछिल्लो समय पर्यटन प्रवर्द्धनका नाममा जंगल क्षेत्रमा जथाभावी गरिएका पक्की संरचनाले पनि गम्भीर असर पार्न थालेको छ,’ मादेनले बताए ।

तीनजुरे क्षेत्रमा जैविकमार्ग मासेर पक्की बाटोहरू बनाइएको छ । उनका अनुसार गुराँसजस्ता संवेदनशील वनस्पतिका लागि स्थायी संरचनाबाट आएको परिवर्तन हानिकारक हुन्छ ।

‘खासमा जंगल क्षेत्रलाई जस्तो छ, त्यही अवस्थामा छाडिदिनुपर्छ,’ मादेन भन्छन्, ‘विकासका नाममा कंक्रिट बिछ्याइएका छन्, बाटाघाटा पक्की बनाइएका छन्, जसको प्रत्यक्ष असर माटो, पानी र हावाको सन्तुलनमा पर्छ र त्यसले वनस्पतिलाई असर गर्छ ।’ पर्यटन विकास प्रकृति प्रतिकूल होइन, अनुकूल हुनु जरुरी रहेको उनको भनाइ छ ।

‘गुराँसले वन नढाक्ने यस्तो अवस्था प्रायः देखिँदैन’, लालीगुराँस विज्ञ डा. केशवराज राजभण्डारीले चिन्ता व्यक्त गरे, ‘सिजनमा पनि गुराँस नै नफुल्ने कुरा त अनौठो नै हो ।’

उनका अनुसार गुराँस सामान्यतया माघ, फागुनतिर फुलिसक्नुपर्ने हो । डा. राजभण्डारीले थपे,‘तर यसपालि नफुलेको सुन्दा अचम्म लाग्यो । मलाई लाग्छ वर्षा नभएकै कारण यो समस्या निम्तिएको हुनुपर्छ ।’

Gurans flourished in the 'capital of Gurans'

उनका अनुसार गुराँसको फूल समयभन्दा चाँडो फुल्ने सम्भावना जलवायु परिवर्तनको असर हुन सक्छ । तर बिलकुलै नफुल्नु भने चिस्यानको गम्भीर अभावसँग जोडिएको समस्या हो । ‘लामो समयसम्म पानी नपर्दा माटो सुक्खा हुन्छ, चिसो वातावरण सिर्जना हुँदैन, जसले गुराँस फुल्नै नसक्ने अवस्था बनाउँछ,’ उनले प्रस्ट पारे ।

विशेषगरी समुद्री सतहदेखि २,२०० मिटरदेखि २,७०० मिटरको उचाइका जंगलहरूमा गुराँस फुल्नुपर्ने हो । तर यसपालि त्यहाँ फूल देखिएको छैन । ‘या त २,२०० मिटरभन्दा तल, या त २,७०० मिटरभन्दा माथिको क्षेत्रमा मात्र फुलेको सुनियो’, राजभण्डारी भन्छन्, ‘यो वातावरणीय असन्तुलनको स्पष्ट संकेत हो । यसबारे समयमै गम्भीर नभए समस्या झन् जटिल बन्दै जान पनि सक्छ । जसले हाम्रो राष्ट्रिय फूलको अस्तित्व नै नामेट हुन पनि सक्छ ।’

नेपाल गुराँस जैविक विविधतामा धनी मुलुकमध्ये एक हो । विश्वभर हालसम्म १ हजार १ सय ५७ प्रजातिका गुराँस पाइएका छन्, जसमा नेपालमा मात्र ३३ प्रजातिका छन् ।

वनस्पतिविद् केशवराज राजभण्डारी र विदेशी लेखक मार्क एफ. वाट्सनको सहकार्यमा प्रकाशित ‘रोडोडेन्ड्रन अफ नेपाल’ नामक पुस्तकअनुसार कञ्चनजंघा संरक्षण क्षेत्र तथा वरपरका क्षेत्रमा गुराँसका ३३ प्रजाति फेला परेका छन् ।

नेपालको पूर्वी भेगदेखि सुदूरपश्चिमसम्मका ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली क्षेत्रमा गुराँस पाइन्छ । देशको कुल वन क्षेत्रमध्ये करिब १० प्रतिशत भूभागमा गुराँसको उपस्थिति रहेको वन विज्ञको तथ्यांक छ ।

नेपालबाहेक गुराँस चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा पाइन्छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully