वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्‍भाव कायम राख्न अपिल

चैत्र ३१, २०८१

शंकर आचार्य

All party meeting in Birganj: Appeal to maintain social harmony

पर्सा — वीरगन्जमा जारी तनाव मत्थर गर्न आइतबार बिहान सर्वदलीय बैठक बसेको छ । बैठकले शनिबार शोभा यात्रा मनाउन निकालिएको यात्राका क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि कानुनको दायरामा ल्याई कडा कानुनी कारबाहीको माग गरेको छ ।  

साथै बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणसँग अपिल समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, नेपाली सेनाका वीरगन्जस्थित श्री श्री जंग गण तथा विभिन्न दलका जिल्ला प्रमुख एवम् प्रतिनिधि सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै यस्तो अपिल गरेको हो । 

प्रतिबद्धतामा शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवम् गतिविधि कुनै पनि संघसंस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायमा अपिल गरिएको छ । 

त्यसैगरी, शनिबार हनुमान जयन्ति शोभायात्राको क्रममा उत्पन्न विवादका क्रममा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आम नागरिकको उपचार सरकारले गर्नुपर्ने माग पनि बैठकले गरेको छ । 

All party meeting in Birganj: Appeal to maintain social harmonyबैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादीका जिल्ला अध्यक्ष विजय महतो, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका जिल्ला अध्यक्ष भोला पटेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफलगायतका सहभागी थिए । शोभायात्रा आयोजक तर्फबाट दीपक पटेल, अभिषेक तिवारी लगायतका सहभागी थिए । 

स्थानीय प्रशासनले बैठकलगत्तै स्थानीय मुस्लिम अगुवाहरूसँग छुट्टै बैठक गर्ने र त्यसपछि पुनः सर्वदलीय सर्वपक्षीय बैठक गरेर अर्को निर्णय गर्ने तयारी गरी रहेको स्रोतले बताएको छ । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully