वीरगन्जमा सर्वदलीय सर्वपक्षीय बैठक : अन्तरधार्मिक सद्‍‍भाव कायम राख्ने सहमति 

चैत्र ३१, २०८१

शंकर आचार्य

All-Party All-Party Meeting at Birgunj: Agreement to maintain inter-religious harmony

पर्सा — वीरगन्जमा जारी तनाव मत्थर गर्न आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । उक्त निर्णयमा घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन अनुसन्धान गरी कानुनी कारबाही गर्ने उल्लेख रहेको छ ।

त्यस्तै अन्तरधार्मिक सद्‍भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहने पनि सहमति भएको छ । त्यस्तै सबै पक्षले कानुनी कारबाहीको प्रकृयामा सहयोग पुर्‍याउने निर्णयसमेत भएको छ । 

त्यसैगरी, घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने गर्ने र घटनामा भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने र गरेमा कारबाहीको दायरामा ल्याउने निर्णयसमेत गरिएको छ । 

जिल्लामा सञ्चालित सबै धार्मिक संस्था तथा ती संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादिको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णयसमेत गरिएको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल प्रहरीका पर्सा प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका पर्सा प्रमुख एसपी राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रहरी उपरीक्षक दिलिप सिंह, नेपाली सेनाका वीरगन्जस्थित श्री श्री जंग गणका प्रमुख कर्नेल निराजन कटुवाललगायतका सहभागी थिए । 

त्यसैगरी, बैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमाले जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादीका जिल्ला अध्यक्ष बिजय महतो, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका जिल्ला अध्यक्ष भोला पटेल, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफलगायतका सहभागी थिए । शोभायात्रा आयोजक तर्फबाट रन्जित साह, दीपक पटेल, अभिषेक तिवारीलगायतका सहभागी थिए । 

यसअघि आइतबार बिहान सम्पन्न सर्वदलीय बैठकले पनि तथा विभिन्न दलका जिल्ला प्रमुख एवं प्रतिनिधि सम्मिलित बैठकले ३ बुँदे प्रतिबद्धता जाहेर गर्दै सद्भाव कायम गर्न अपिल गरेको थियो । 

बैठकले शनिबार शोभायात्रा मनाउन निकालिएको यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याई कडा कानुनी कारबाहीको माग गरेको थियो । साथै बैठकले सामाजिक सद्भाव कायम गर्न सर्वसाधारणसँग अपिल समेत गरेको थियो । प्रतिबद्धतामा शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवं गतिविधि कुनै पनि संघसंस्था एवम् समुदायले नगर्ने प्रतिबद्धता सहित सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायमा अपिल गरिएको छ । 

त्यसैगरी, शनिबार हनुमान जयन्ती शोभायात्राको क्रममा उत्पन्न विवादका क्रममा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आम नागरिकको उपचार सरकारले गर्नु पर्ने माग पनि बैठकले गरेको छ । 

यस्ता छन् सर्वदलीय सर्वपक्षीय भेलाका सहमति

All-Party All-Party Meeting at Birgunj: Agreement to maintain inter-religious harmony

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully