ट्रम्पको आगमनपछि ६३ नेपाली अमेरिकाबाट निष्कासित

आधिकारिक कागजात नभएका कारण अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली स्वदेश आउने क्रम जारी

चैत्र ३१, २०८१

मातृका दाहाल

After the arrival of Trump, 63 Nepalis were expelled from America

काठमाडौँ — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो । 

 ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमनका अनुसार अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली आउने क्रम जारी छ । 

अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ । विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ‘डिपोर्ट’ भएकामध्ये ८ जना एकैपटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र अरू ५५ जना नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् । ‘डिपोर्ट’ भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ । 

विमानस्थल अध्यागमन र नेपाल प्रहरीका अनुसार ‘डिपोर्ट’ मा परेका अधिकांश व्यक्ति ‘मानव तस्कर’ लाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेर अमेरिका छिरेकाहरू छन् । उनीहरूमा धेरैजसो पश्चिम/पूर्वी रुकुम, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँचीतिरका छन् । उनीहरू ५० लाखदेखि १ करोड रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाइएको छ । 

मानव तस्करमार्फत अमेरिका पुगेकाहरूले गिरोहको ‘नेटवर्क’ बारे प्रहरीलाई बताउने गरेका छैनन् । ‘उनीहरूमार्फत मानव तस्करीको गिरोहसम्म पुग्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जीसीले भने, ‘तर उनीहरू खुल्नै चाहँदैनन् । अधिकांशले रुट, खर्च र अमेरिकामा व्यहोरेको सकस मात्रै बताउने गरेका छन् ।’

ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासन गर्ने अभियान चलाएको छ । अमेरिकाबाट यसअघि सन् २०२१ देखि २०२४ सम्म १ सय ४० नेपाली निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो । आइसले गत २४ नोभेम्बरसम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिरहेको छ ।

पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन ‘डिपोर्ट’ को जोखिममा छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीले ‘डिपोर्ट’ को आदेश पाइसकेका छन् । तीमध्ये करिब २ हजार नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बस्दै आएको अनुमान छ । ‘डिपोर्ट’ मा पर्नेहरूलाई ‘ट्राभल डकुमेन्ट’ बनाइदिएर नेपालसम्म ल्याउन वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको छ ।

आइसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेको छ । अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण सार्वजनिक भएको छ । उनीहरूको बसोबास मुख्य गरी क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी, इलिनोईलगायत राज्यमा रहेको पाइएको छ ।

कहिले कति निष्कासित ?

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully