राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकारका परिवार भेट्न पुगे राप्रपा नेता

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

The RPP leader went to meet the family of the journalist who was burned to death in the royalist demonstration

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताले दिवंगत पत्रकार सुरेश रजकका परिवारलाई भेट गरेका छन् । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको राजावादीको प्रदर्शनको फोटो/भिडियो खिच्ने क्रममा रजकको जलेर मृत्यु भएको थियो । 

रजकको निवास ताहाचलमा अध्यक्ष लिङदेनसहित बागमती प्रदेशका सभामुख भुवन पाठकलगायतको टोली पुगेको थियो ।

अध्यक्ष लिङदेनले पार्टीको बैठकबाटै घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने निर्णय गरेको बताए । संसद् र सडकबाट समेत यो विषय उठाइरहेको र निरन्तर उठाइरहने उनको भनाइ थियो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले रजकका परिवारले सहिद घोषणा गर्नुपर्ने माग राखेको जानकारी गराएका छन् । 'सुरेशका परिवारले उनलाई सहिद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको छ,' उनले उल्लेख गरेका छन् । 

चैत १५ मा नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतले नेतृत्व गरेको राजावादी प्रदर्शनकारीले तीनकुनेको घरमा आगो लगाउँदा एभीन्युज टीभीका पत्रकार रजकको त्यही जलेर मृत्यु भएको थियो । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनले पनि ज्यान गुमाएका थिए । पत्रकार रजकले घरभित्रबाट प्रदर्शनको फोटो/भिडियो खिचिरहेका बेला बाहिरबाट घरमा आगो लगाइएको थियो ।

उक्त घटनापछि सुवेदीलाई प्रहरीले घरबाट निस्किन दिएको छैन भने प्रसाईंलाई भारतबाट पक्राउ गरेर ल्याइएको छ । प्रदर्शनमा नेतृत्व गर्ने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई प्रहरीले चैत १५ मा नै पक्राउ गरेको थियो ।

कान्तिपुर

Link copied successfully