राजावादी प्रदर्शनमा भएका घटनाको छानबिन गर्न सांसदको माग

नियमित कानुनी कारबाहीबाटै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री लेखकको भनाइ

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

MP's demand to investigate the incident in royalist demonstration

काठमाडौँ — राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएका घटनाको न्यायिक छानबिन हुनुपर्ने माग सांसदहरूले गरेका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकसँग तीनकुने घटनाका सन्दर्भमा गरेको छलफलमा सांसदहरूले छानबिनको माग गरेका हुन् ।

सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समितिमा बोलाएर प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस सांसद जीवन परियारले घटनाको जिम्मेवार ज्ञानेन्द्र शाहलाई समितिमा बोलाउनुपर्ने बताए । तीनकुने घटनामा उनको संलग्नता छ कि छैन भन्ने जिज्ञासा रहेकाले छलफल आवश्यक रहेको परियारले धारणा राखे । एमाले सांसद महेश बर्तौलाले पूर्वराजा शाहलाई घटनाप्रति जवाफदेही बनाउनुपर्ने बताए । 

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले तीनकुने घटनाको मसिनो गरी छानबिन गर्नुपर्नेमा जोड दिए । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले सरकारका तर्फबाट तीनकुनेमा मानवअधिकारको गम्भीर उल्लंघन भएको आरोप लगाएका थिए । उनले राष्ट्रगान बजिरहेका बेला अश्रुग्यास प्रहार गरेर सभालाई उत्तेजित गराउने काम भएको भन्दै घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गरे । 

समिति सभापति विमला सुवेदीले राजावादीको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र हत्यासम्मका घटना भएकाले सत्यतथ्य बाहिर ल्याउन छानबिनको आवाज बैठकमा उठेको बताइन् । समितिले शुक्रबार सरकारलाई कुनै निर्देशन भने दिन सकेन । घटनाका विषयमा गृहमन्त्री लेखकसँग छलफल भएको र यसबारे समितिले आगामी बैठकमा थप निर्णय लिने उनले जानकारी दिइन् ।

गृहमन्त्री लेखकले सरकारले नियमित कानुनी कारबाही प्रक्रियाबाटै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए । न्यायिक छानबिन समिति आवश्यक नरहेको उनको भनाइ थियो । राज्यपक्षको कमीकमजोरी पनि देखिएकाले छानबिन गर्न र सुरक्षा बललाई थप सुविधासम्पन्न र प्रविधियुक्त बनाउन निर्देशन दिने तयारी समितिको थियो । तर, सत्तारूढ दलकै सांसदले सरकारले तीनकुने घटनाबारे आवश्यक कारबाही गरिरहेकाले त्यस्तो निर्देशन आवश्यक नहुने भनेर आपत्ति जनाएपछि समितिले निर्णय लिन सकेन ।

कान्तिपुर

Link copied successfully