व्यक्ति हत्याको कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको पनि छैन : अध्यक्ष दाहाल

‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै, उस्तै । लोकतन्त्रलाई नेतातन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुन् भनेको छ । त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ’

चैत्र ३०, २०८१

न्युज एजेन्सी नेपाल

Leave the matter of murder, I have not even beaten a single person: President Dahal

काठमाडौँ — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजार नागरिकको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता, कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको समेत बताए । उनले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालीन माओवादी) ले कति हत्या गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिने बताए । उनले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाए । 

‘एकथरी मानिसहरु, इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिरहँदा, होइन यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ?,' उनले भने, '१७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।'

उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए । 'व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ,' उनले भने, 'तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजिवी, राजनीतिक दल, सात राजनीतिक दल, त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईँहरु पनि कोही बोल्न चाहनुभएको छैन ।' 

उनले थपे, 'तपाईँहरु पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठीक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’

अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएकोमा पनि आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि थियो । उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताए । ‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै, उस्तै । लोकतन्त्रलाई नेतातन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुन भनेको छ । त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ,' उनले भने, 'यो विषय पनि यहाँ पनि सबै उस्तै हुन्, अथवा माओवादी मात्रै १७ हजारको जिम्मेवार हो । हत्यारा हो, आतंककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अंग भएको कुरालाई हामी के भन्छौँ छ ? त्यो गलत हो ? त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो ।’

अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताए । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्ने कुरा भन्न डराउन नहुने बताए । 

न्युज

Link copied successfully