ओली नेतृत्वको सरकारलाई खबरदारी नगरे कांग्रेस अप्ठ्यारोमा पर्छ : डा. कोइराला

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

If the Oli-led government is not alerted, the Congress will be in trouble: Dr. Koirala

काठमाडौँ — कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीको खबरदारी गरिरहनुपर्ने बताएका छन् । सरकारका कामकारबाहीको खबरदारी नगरिए कांग्रेस नै अप्ठ्यारोमा पर्ने नेता कोइरालाको भनाइ छ । 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कोइरालाले सरकारमा पार्टीको सहभागिता रहेपनि प्रश्न गरिरहनुपर्ने धारणा राखेका हुन् । कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले रहेकाले पनि ओली नेतृत्वको सरकारलाई पार्टीले खबरदारी गरिरहनुपर्ने उनको भनाइ थियो । 'यो सरकारमा हामी पनि सरकारमा छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । किनभने हाम्रो प्रतिष्पर्धी कुनैपनि ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन,' उनले भने, 'यो सरकारले कतै गलत, कमीकमजोरी गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिरहनुपर्छ । त्यो नगरे कांग्रेस अफ्ठ्यारोमा पर्छ ।'

सरकारले सुशासन दिन नसकेको पनि कोइरालाको भनाइ छ । 'सुशासन वास्तवमा छैन भने पनि हुन्छ, सुशासन दिलाउनलाई कन्जुस्याँई नगरौँ । भ्रष्टाचारको म कुरा गर्दिनँ । दण्डहिनता बढेको बढ्यै छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जानसक्छौँ भन्ने मलाई विश्वास छ,’ उनले भने । 

ओली नेतृत्वमा सरकार गठन गर्ने बेला कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने पनि कोइरालाको भनाइ थियो । संविधान संशोधन गर्न ढिलाइ भए सडकमा आन्दोलन बढ्ने पनि उनले बताए । 'यो सरकारले तीन वटा कुरा खासगरी संविधान संशोधन गर्ने कुरा गरेको छ, यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ,' उनले भने ।

कांग्रेसले एमालेलाई प्रतिस्पर्धीका रूपमा लिनुपर्ने बताए । भविष्यको पनि प्रतिष्पर्धी भएकाले एमालेसँग सोचेर अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । 

त्यस्तै, कोइरालाले अमेरिकाको ट्यारिफ नीति तेस्रो विश्वयुद्ध भन्दा पनि ठूलो हुने खतरा रहेको बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully