काठमाडौँ — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले हजारौंको बलिदानी र संघर्षबाट प्राप्त अधिकार रक्षाका लागि संवेदनशील भएर सोच्नुपर्ने बेला आएको बताएका छन् । लाेकतान्त्रिक नेवा: खलसहितका संघसंस्थाले कीर्तिपुरमा आयाेजना गरेकाे नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले आजको स्वतन्त्रता र अधिकार त्यतिकै प्राप्त नभएको बताए ।
'हामीले अधिकारलाई मात्रै उपभोग गर्न खोजेर हुँदैन । अधिकारसँगै जोडिएर आउने दायित्व र कर्तव्यहरूको पनि पालना गर्नुपर्छ,' अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा भएको स्मरण गर्दै मन्त्री सिंहले भने, 'हामीले पाएको अधिकारको संरक्षण हुने कि नहुने भन्ने कुरा हामीले नै गर्ने व्यवहारमा भर पर्छ ।'
अधिकारको महत्व नबुझेका कतिपयले अहिले व्यवस्थामाथि नै प्रश्न गरिरहेको उनले बताए । अधिकार खोसिनुको पीडा भोग्ने र बुझ्नेहरूलाई थाहा भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले पुरानै व्यवस्थामा फर्किने विषयमा कल्पनासम्म पनि गर्न नसक्ने बताए । जनतामा रहेको निराशालाई असल काम र व्यवहारले चिर्दै जानुपर्नेमा उनले जोड दिए ।
